धुनीबेसीमा पाण्डे : हामीले ल्याएको व्यवस्थामा सबैले चुनाव लड्न पाउँछन्

Avatar photo
Dhadingpost
फाल्गुन १३, २०८२

धादिङ । धादिङ निर्वाचन क्षेत्र नं. १ का नेकपा उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे ले लोकतान्त्रिक व्यवस्थाका कारण नयाँ–नयाँ उम्मेदवार चुनावमा आउन पाएको भन्दै यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् ।

धादिङको धुनीबेसी नगरपालिका वडा नं. १ भञ्ज्याङपोखरी क्षेत्रमा मतदाता भेटघाटका क्रममा नेता पाण्डेले आफूहरूकै संघर्षबाट प्राप्त राजनीतिक व्यवस्थाले सबैलाई चुनाव लड्ने अवसर दिएको बताए । उनले भने, “हामीले ल्याइदिएको व्यवस्थामा घण्टीबाट आशिकाहरू चुनाव लड्न आउँदा पनि हामी खुशी छौं। लोकतन्त्रमा सबैले प्रतिस्पर्धा गर्न पाउनु स्वाभाविक कुरा हो ।”

पछिल्लो समय धुनीबेसी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवारप्रति आकर्षण देखिएको चर्चा चलिरहे छ । जनताले अनुभवी नेतृत्वलाई नै रोज्ने विश्वास गर्दै पाण्डेले उनले आफ्नो पक्षमा जनमत बलियो रहेको दाबी गर्दै निर्वाचनमा जित सुनिश्चित रहेको बताए।

उनले जनताको साथ र विश्वास आफूहरूसँग रहेको उल्लेख गर्दै विकास, सुशासन र स्थायित्वका लागि आफूलाई मत दिन मतदातासँग आग्रह गरे । “चुनाव हामी जित्छौं, जनताहाम्रा पक्षमा छन्,” उनले भने, “तर नयाँ उम्मेदवार आउन पाउने वातावरण बनेको छ भने त्यो लोकतन्त्रकै उपलब्धि हो ।”

घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्र बनाउँदै पाण्डेले आगामी दिनमा पनि विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको उनका सहयोगीहरूले बताएका छन् ।

स्थानीय स्तरमा चुनावी गतिविधि बढ्दै जाँदा विभिन्न दलका उम्मेदवारहरू मतदातामाझ पुग्ने क्रम तीव्र बनेको छ । चुनाव नजिकिँदै जाँदा धादिङ–१ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको स्थानीयको भनाइ छ ।

x