नीलकण्ठ–३ को बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा स्तुति दनै

Avatar photo
Dhadingpost
भदौ ६, २०८३

धादिङ । नीलकण्ठ नगरपालिका वडा नं. ३ को वडा स्तरीय बाल सञ्जाल पुनर्गठन गरिएको छ । पुनर्गठनबाट स्तुति दनैको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

बाल सञ्जालको पुनर्गठन तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष सारा तामाङले नवनिर्वाचित अध्यक्ष स्तुति दनैलाई बाल सञ्जालको आधिकारिक माइन्युट तथा प्रशासनिक रजिस्टर हस्तान्तरण गर्दै नेतृत्व सम्पेकी हुन् ।

कार्यक्रममा नीलकण्ठ नगर बाल सञ्जालका अध्यक्ष निगेश श्रेष्ठ, वडा सचिव वीरबहादुर थापा, वडा सदस्य सन्तोष थापा तथा वडा बाल संयोजक प्रदिप रेग्मीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा बाल सञ्जालको पूर्व कार्यसमिति, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष सारा तामाङले आफ्नो कार्यकालमा भएका गतिविधि तथा प्रगति विवरण नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिईन् ।

नवनिर्वाचित अध्यक्ष स्तुति दनैले पूर्व कार्यसमितिको अनुभव तथा शिक्षक र स्थानीय जनप्रतिनिधिको मार्गदर्शनमा बालबालिकाको हक–हित, शिक्षा तथा क्षमता विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा सहभागी अतिथिहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै बालबालिकाको नेतृत्व विकास र अधिकार संरक्षणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । तस्वीर स्रोतः नीलकण्ठ ३ को कार्यालय