
धादिङ । आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उम्मेदवार रमेश धमला उत्तरी धादिङका विभिन्न बस्तीमा पुगेर मतदातासँग भेटघाट र घरदैलो अभियान सञ्चालन गरिरहेका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि कांग्रेसको चुनाव चिन्हमा मत माग्दै उनी आइतबारदेखि रुवीभ्याली क्षेत्रमा केन्द्रित भएका हुन्। अभियानमा कांग्रेसका समानुपातिक उम्मेदवार सेतेमान तामाङसहित जिल्ला तहका नेताहरू पनि सहभागी छन्।
धमलाले रुवीभ्याली क्षेत्रसँग आफ्नो विशेष सम्बन्ध रहेको उल्लेख गर्दै यस क्षेत्रलाई पहिचान दिलाउन विगतमा आफूले भूमिका खेलेको स्मरण गरे। स्थानीय तह पुनर्संरचना हुँदा प्रस्ताव गरिएको ‘रुवीभ्याली’ नामले अहिले क्षेत्रको छुट्टै पहिचान स्थापित भएको उनको भनाइ छ।
आइतबार लापा क्षेत्रका मतदातासँग अन्तरक्रिया गरेका उनले साविक लापा गाविसमा मोटरेबल सडक विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। सोमबार बिहान खाँदिङ पुगेका उनले स्थानीयसँग भेटघाट गर्दै सडक र पर्यटन विकासले नै जनजीवन सुधार गर्न सकिने बताए।
भौगोलिक कठिनाइका बाबजुद प्राकृतिक सौन्दर्य, संस्कृति र परम्परालाई सदुपयोग गर्न सके उत्तरी धादिङ आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने उनले बताए। स्थानीय जीवनशैली र भौगोलिक विशेषतालाई पर्यटनसँग जोडेर रोजगारी सिर्जना गर्न सकिने उनको धारणा थियो।
घरदैलो अभियानका क्रममा धमलाले खाँदिङबाट लब्चेत, कब्चेत र कपुर गाउँसम्म पैदल यात्रा गरेका छन् भने साँझ तिप्लिङमा मतदातासँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।
धमलाले उत्तरी धादिङको विकासका लागि केही प्राथमिक योजनाहरू अघि सारेका छन्। साँकोष–तिप्लिङ सडकको स्तरोन्नति तथा कालोपत्रे, जलविद्युत आयोजनामा स्थानीयको स्वामित्व सुनिश्चित गर्ने पहल, भीरमौरीको मह संकलन र प्रशोधनलाई व्यवस्थित गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने योजना उनले प्रस्तुत गरेका छन्।
यसैगरी कृषि उत्पादनको बजारीकरणका लागि चिस्यान केन्द्र स्थापना, तथा रुवीभ्याली र गणेश हिमाल क्षेत्रलाई पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना पनि उनले अघि सारेका छन्। पदमार्ग, होमस्टे र पर्वतारोहणसम्बन्धी तालिम केन्द्र स्थापना गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्य उनले व्यक्त गरेका छन्।
स्थानीयवासीले भने उत्तरी धादिङको विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै आगामी नेतृत्वबाट ठोस कामको अपेक्षा गरेका छन्।



