
धादिङ।
धादिङको गंगाजमुना गाउँपालिका–३ गुम्दीमा ल्होछार पर्वको अवसरमा पुस १२ गतेदेखि सञ्चालन भएको विभिन्न खेलकुद प्रतियोगिताअन्तर्गत भलिबलतर्फ रि कुताल टिम विजेता बनेको छ।
भलिबल प्रतियोगितामा चिम्चोक दोस्रो र आयोजक ‘ए’ टिम तेस्रो स्थानमा रहन सफल भएका छन्।
यसैबीच, पुस १५ गते ल्होछार विशेष कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक धनबहादुर गुरुङले जानकारी दिएका छन्। विशेष कार्यक्रममा सिनियर गोरु जुधाई, आमा समूहको डोरी तान्ने, भाले छुवाउने लगायतका खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने छन्।
गोरु जुधाई कार्यक्रममा रुवी भ्याली गाउँपालिका, खनियाबास गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र गंगाजमुना गाउँपालिकाका सिनियर गोरुहरूको सहभागिता रहनेछ।
कार्यक्रमका विशेष अतिथिमा नेपाली कांग्रेसका निवर्तमान सभापति रमेश धमला र प्रमुख अतिथिमा पूर्व कानुन तथा राज्य मन्त्री दिलमान पाख्रिन रहने कार्यक्रम संयोजक गुरुङले जानकारी दिएका छन्।
