
काठमाडौं । नेपालले आज पहिलोपटक ‘जेनजी शहीद दिवस’ मनाउँदैछ । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मरण र सम्मानमा सरकारले भदौ २३ गतेलाई हरेक वर्ष जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।
सरकारले यस वर्षको भदौ २३ गते अर्थात् सेप्टेम्बर ८ मा देशभर सार्वजनिक बिदासमेत दिएको छ । यो दिन जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको योगदान र बलिदानको स्मरण गर्दै उनीहरूले उठाएका सवाल तथा आन्दोलनका उद्देश्यबारे चर्चा र आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिइएको छ।
एक वर्षअघि आजकै दिन नेपालमा नयाँ पुस्ताका युवाहरू ठूलो संख्यामा सडकमा उत्रिएका थिए। भ्रष्टाचार, राजनीतिक बेथिति, सुशासनको अभाव, जवाफदेहिताको प्रश्न र राज्य सञ्चालनप्रतिको असन्तुष्टि उनीहरूको आन्दोलनका प्रमुख विषय थिए । सामाजिक सञ्जालमार्फत संगठित हुँदै अघि बढेको आन्दोलन छोटो समयमै देशव्यापी बनेको थियो।
आन्दोलनका क्रममा भएको झडप र हिंसात्मक घटनाले ठूलो मानवीय क्षति निम्त्यायो। सरकारले आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको थियो । तीमध्ये ४२ जना जेनजी आन्दोलनकारी र तीन जना प्रहरी कर्मचारी रहेको सरकारी विवरण सार्वजनिक भएको छ ।
जेनजी शहीद दिवस केवल श्रद्धाञ्जली अर्पण गर्ने औपचारिक अवसर मात्र होइन, नयाँ पुस्ताले उठाएका प्रश्नलाई सम्झने दिन पनि हो । युवाहरूले सडकबाट उठाएका सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता र राजनीतिक सुधारका सवाल आज पनि उत्तिकै महत्वपूर्ण छन् ।
जेनजी आन्दोलनले नेपालको राजनीतिक घटनाक्रममा समेत ठूलो परिवर्तन ल्यायो । आन्दोलनपछि तत्कालीन सरकार परिवर्तन भयो र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । त्यसपछि प्रतिनिधिसभाको निर्वाचन हुँदै देशको राजनीतिक संरचना र शक्ति समीकरणमा समेत परिवर्तन आएको छ ।
तर आन्दोलनको एक वर्षपछि पनि शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका विभिन्न पक्षका अपेक्षा पूर्ण रूपमा सम्बोधन भइसकेका छैनन् । राहत, उपचार, क्षतिपूर्ति, रोजगारी तथा शहीद परिवारको सम्मानलगायतका विषयमा राज्यको जिम्मेवारी अझै महत्वपूर्ण रहेको छ ।
शहीदको सम्झना फूलमाला र श्रद्धाञ्जलीमा मात्र सीमित हुनु हुँदैन । उनीहरूले आफ्नो ज्यानको मूल्य चुकाएर उठाएका प्रश्न राज्य सञ्चालनको व्यवहारमा सम्बोधन हुन सके मात्र उनीहरूको बलिदानको वास्तविक सम्मान हुनेछ ।
आजको जेनजी शहीद दिवसले त्यसैले एउटा गम्भीर प्रश्न पनि अगाडि ल्याएको छ—एक वर्षअघि सडकमा ज्यानको जोखिम मोलेर युवाहरूले उठाएको आवाज हामीले कति सुनेका छौँ ?
परिवर्तनको माग गर्दै सडकमा उत्रिएको पुस्ताका केही प्रतिनिधि आज इतिहासको पानामा शहीदका रूपमा दर्ज भएका छन् । उनीहरूको बलिदानलाई सम्झनु भनेको विगत सम्झनु मात्र होइन, उनीहरूले खोजेको समाज र राज्य निर्माणको जिम्मेवारीसमेत सम्झनु हो ।
जेनजी शहीद दिवसले नयाँ पुस्ताको आवाजलाई सम्मान गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र सामाजिक न्यायप्रतिको प्रतिबद्धता अझ बलियो बनाउने अवसर प्रदान गरोस् । यही नै जेनजी शहीदहरूप्रतिको सच्चा श्रद्धाञ्जली बन्न सक्छ ।
