गजुरीको राष्ट्रपति रनिङ शिल्ड फेरि डोलभञ्ज्याङ माविले जित्यो

Avatar photo
Dhadingpost
पुस ३, २०८२

धादिङ । धादिङको गजुरी गाउँपालिकामा सम्पन्न पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि डोलभञ्ज्याङ माध्यमिक विद्यालयले जितेको छ। यसअघि तीन पटक विजेता बनिसकेको डोलभञ्ज्याङ माविले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।

पुस १ देखि ३ गतेसम्म गजुरी गाउँपालिका–५ स्थित गलौदी खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा डोलभञ्ज्याङ माविले १३ स्वर्ण, १० रजत र ६ कास्य गरी कुल २९ पदक हात पार्दै प्रथम स्थान हासिल गर्‍यो।

प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय ११ स्वर्ण, ४ रजत र ४ कास्यसहित १९ पदक प्राप्त गर्दै द्वितीय भयो भने किराञ्चोक माध्यमिक विद्यालय २ स्वर्ण, ६ रजत र २ कास्यसहित १० पदकका साथ तृतीय स्थानमा रह्यो।

विद्यालयअनुसार पदक विवरण

१. डोलभञ्ज्याङ मावि – १३ स्वर्ण, १० रजत, ६ कास्य (२९)
२. आदर्श मावि – ११ स्वर्ण, ४ रजत, ४ कास्य (१९)
३. किराञ्चोक मावि – २ स्वर्ण, ६ रजत, २ कास्य (१०)
४. गजुरी पिण्डा मावि – २ स्वर्ण, २ रजत, ४ कास्य (८)
५. महेन्द्रोदय मावि – १ स्वर्ण, ४ रजत, ९ कास्य (१४)
६. छेपाङ मावि – १ स्वर्ण, १ रजत, १ कास्य (३)
७. मुनाल एकेडेमी – १ रजत, १ कास्य (२)
८. थुम्कीडाँडा मावि – १ रजत
९. पिण्डेश्वरी मावि – १ रजत
१०. किराञ्चोक कटुञ्जे मावि – २ कास्य
११. भानुभक्त मावि – १ कास्य

पुरस्कार वितरण समारोह गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षता तथा सुजन भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो। समारोहमा बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ, गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुराल, प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशी, वडा अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा गजुरी गाउँपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयका ३२६ जना विद्यार्थी खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए।