पोर्चुगलमा नेपाली परिवारको घरमा आगलागी, एनआरएनए पोर्चुगल र मञ्चको सहयोग

Avatar photo
गोविन्द बुढाथोकी
कार्तिक २५, २०८२

पोर्चुगल । पोर्चुगलको पुवा दा पेनिफेरा, तोरेस भेद्रास क्षेत्रमा एक नेपाली परिवारको घरमा आगलागी हुँदा सम्पूर्ण सामान जलेर नष्ट भएको छ।

झापा बिर्तामोड स्थायी घर भई हाल सो क्षेत्रमा बसोबास गर्दै काम गर्दै आएका रोशन थपलिया, उनकी श्रीमती सरु उप्रेती र छोरा आड्रियन थपलिया बजार किनमेलका लागि गएका बेला आगलागी भएको हो।
आगलागीका कारण घरभित्र रहेका लत्ता कपडा, खानेकुरा र अन्य सामग्री जलेर पूर्णरूपमा क्षति पुगेको बताइएको छ।

विद्युत गिजरबाट सर्टसर्किट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। घरको बसोबास अनुमति पत्र (डोकुमेन्ट) नहुँदा सोसल सेगुराम्सबाट कुनै क्षतिपूर्ति नपाइने अवस्था रहेको स्थानीय जिएन्आर (GNR) ले जनाएको छ।

स्थानीय नेपाली सहयोगी देवराज घिमिरेका अनुसार आगलागीमा परिवारका पासपोर्ट र आवश्यक कागजातहरू समेत नष्ट भएका छन्।

एनआरएनए पोर्चुगलद्वारा राहत वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी पोर्चुगल) ले आगलागी पीडित परिवारलाई तत्काल राहतस्वरूप म्याट्रेस, सिरक, तकिया, लत्ता कपडा, खाद्यान्नका सामग्री र भाँडाकुँडा वितरण गरेको छ।
राहत वितरण कार्य युरोप क्षेत्रीय उपसंयोजक माधव पोखरेलएनआरएनए आइसिसी सदस्य राज गुरुङले गरेका हुन्।

त्यस्तै, जलेर नष्ट भएका पासपोर्ट र कागजातको पुनःनिर्माणका लागि नेपाली राजदूतावास, लिस्बन सँग समन्वय गरी सहयोग मागिएको एनआरएनएकी अध्यक्ष दीपा काफ्लेले जानकारी दिइन्।

नेपाली जनप्रगतिशील मञ्चको सहयोग

राहत वितरणकै क्रममा नेपाली जनप्रगतिशील मञ्च पोर्चुगल ले पनि परिवारलाई खाद्यान्नका सामग्री र लत्ता कपडा प्रदान गरेको छ।
मञ्चका नेता देवराज घिमिरेका अनुसार आगलागीले सम्पूर्ण सामान नष्ट भएकाले तत्कालका लागि आवश्यक वस्तुहरू सहयोगस्वरूप वितरण गरिएको हो।

दीपा काफ्ले नेतृत्वको एनआरएनए पोर्चुगल यस अघि पनि यस्तै पोर्चुगलको बेजा जिल्ला स्थित उदिमिरा नगरपालिकाको फताकामा बिफ्रुट कम्पनीको एक घरमा आगालागि पीडित बनेका १६ जना नेपालीहरुलाई सहयोग गरेको थियो ।