
धादिङ । धादिङका स्वास्थ्यकर्मीहरूलाई एउटै साझा मञ्चमा जोड्ने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाजले “स्वस्थ धादिङ समुदायका लागि एक साथ” भन्ने नाराका साथ धादिङ स्वास्थ्यकर्मी अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ।
धादिङमा जन्मथलो भएका र हाल स्वदेश तथा विदेशमा कार्यरत डाक्टर, नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, अडियोलोजिष्ट, सार्वजनिक स्वास्थ्य विज्ञ र चिकित्सा विद्यार्थीहरू यस कार्यक्रममा सहभागी हुने छन्।
कार्यक्रम आगामी नोभेम्बर ९, २०२५ (कात्तिक २४ गते आइतबार) बेलुका ६:०० बजे (नेपाली समय) भर्चुअल माध्यम (Zoom) मार्फत सञ्चालन हुने भएको छ।
कार्यक्रमको मुख्य उद्देश्य धादिङका स्वास्थ्य पेशाकर्मीहरूबीच पेशागत सहकार्य सुदृढ पार्ने र चिकित्सकीय ज्ञान आदान–प्रदान गर्ने रहेको आयोजकले जनाएको छ।
भर्चुअल कार्यक्रमको सञ्चालन प्रसूना कडेलले गर्नेछिन्, जो क्रिटिकल केयर आउटरीच विशेषज्ञ तथा न्यू बक्स विश्वविद्यालयकी व्याख्याता हुन्। उनी एनआरएनए युरोप क्षेत्रीय समन्वयक समेत हुन्।
कार्यक्रममा धादिङका विभिन्न देशमा रहेका स्वास्थ्य पेशाकर्मीहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यस पहलले धादिङको विश्वव्यापी स्वास्थ्य सञ्जाल सुदृढ गर्न सहयोग पुर्याउनेछ।
कार्यक्रममा सहभागी हुन इच्छुकहरूले Zoom Meeting ID: 846 2228 8487 र Passcode: 376388 प्रयोग गरी जोडिन सक्ने अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जनाए ।
