
काठमाडौं । आज कार्तिक शुक्ल एकादशी, अर्थात् हरिबोधनी एकादशी देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ । भगवान् विष्णुको निद्राबाट जागरण हुने दिनका रूपमा मानिने यस एकादशीलाई देवोत्थान एकादशी पनि भनिन्छ। यस पर्वसँग जोडिएको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको तुलसीको पूजा र विवाह हो ।
धार्मिक मान्यताअनुसार, तुलसीलाई लक्ष्मी स्वरूपा मानिन्छ । पौराणिक कथामा शंखचूड दैत्यलाई वध गर्न भगवान् विष्णुले बृन्दा (तुलसी) को पतिव्रता धर्म भंग गरेको उल्लेख छ । त्यसैबेलादेखि तुलसी विष्णुकी अर्धाङ्गिनीका रूपमा पूजिन थालिएको हो । यही कारण हरिबोधनी एकादशीका दिन तुलसी विवाह गर्ने परम्परा चलेको छ ।
काठमाडौँ उपत्यकाका बुढानीलकण्ठ, चाँगुनारायण, शेषनारायणलगायतका मठ–मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भीड देखिएको छ। भक्तपुर दरबार क्षेत्रमा तुलसी विवाहको विशेष मेला लाग्ने गरेको छ, जहाँ दुलाहा विष्णु र दुलही तुलसीलाई पारम्परिक विधिअनुसार विवाह गरिन्छ।
तुलसीको महत्व केवल धार्मिक मात्र होइन, वैज्ञानिक दृष्टिकोणले पनि बलियो छ । आयुर्वेदमा तुलसीलाई ‘अमृत तुल्य’ भनिन्छ । यसमा एन्टिब्याक्टेरियल, एन्टिभाइरल गुण हुन्छन्, जसले रोगप्रतिरोधात्मक क्षमता बढाउने, श्वासप्रश्वासका समस्या कम गर्ने र मानसिक शान्ति दिने विश्वास छ । यही कारण हिन्दू घर–आँगनमा तुलसीको मठ राख्ने परम्परा अझै जीवित छ।
हरिबोधनी एकादशीसँगै विवाह, व्रतबन्ध, गृहप्रवेशलगायतका शुभ कार्य गर्ने समय सुरु हुन्छ। त्यसैले तुलसी विवाहलाई नयाँ जीवन चक्र सुरु हुने प्रतीकका रूपमा लिने गरिएको छ ।
