चारैतिर पहिरो गएपछि धादिङ रीगाउँका २१ घर जोखिममा, ओडारमा वास

Avatar photo
Dhadingpost
असार १६, २०७३

हरिहरसिंह राठौर, धादिङ
30062016101242Rigaun-_Pahiro-(2)-1000x0
असार १६-
गए रातिदेखि परेको अविरल वर्षाले चारैतिर पहिरो गएपछि जिल्लाको उत्तरी विकट गाविस रीगाउँ–९ चेप्राङका २१ घर जोखिममा परेका छन् । गत वर्षको भूकम्पपछि गएको पहिरोले अविरल वर्षापछि चारैतिरबाट थप घेरेपछि पुरै वस्ती संकटमा परेको हो ।

‘लापा गाविसको अर्को वस्तीमा जाने पंगलीखोलामा पनि पहिरो गएको छ । पूर्व तर्फ पनि चेप्राङ खोलामा पनि राती १० बजेबाट परेको पानीले पहिरो आए पछि सबै बाटो अवरुद्ध छ । वस्तीको तलमाथि गत वर्षदेखि नै पहिरो थियो । अहिले ढुंगा खसिरहेकोछ,’ स्थानीय सैनीमाया तामाङले फोनमा भनिन् ।

त्यहीका अर्का एक स्थानीय युवाले प्रमुख जिल्ला अधिकारीलाई फोनमा जानकारी गराए अनुसार २१ घरका सबै परिवार अबिले ओडारमा बसिरहेका छन् । ‘२१ घरका १९ जना अशक्त, बालबालिका, वृद्ध र सुत्केरीहरुलाई लिएर हिजो राति देखि नै ओडारमा छौं । पानी थामिएको छैन,’ स्थानीय युवा कान्छा तामाङले प्रजिअ विश्वप्रकाश सुवेदीलाई फोनमा जानकारी दिएका छन् । रीगाउँ भूकम्पपछि सबैभन्दा बढी पहिरो गएको गाविस हो ।

‘हामीले प्रजिअ मार्फत रीगाउँमा पहिरो गएको खबर पाएका छौं । वल्लोपल्लो गाउँ जाने सबै बाटो थुनिएको भन्ने खबर पनि प्राप्त भएको छ,’ जिल्ला स्थित देवीदत्त गणका सेनानी राजेश थापाले भने, ‘ मौसम सफा भएपछि सामुहीक आवास निर्माण गर्ने सामाग्री ढुवानी गर्न हेलिकप्टरले रेकी गरेर आएपछि हामी अवस्था अनुसार उद्धार गर्छौं ।’

प्रजिअ विश्वप्रकाश सुवेदीले पहिरोपीडितलाई नआत्तिन भन्दै सेनासँग सहकार्य गरेर तत्काल उद्धार गरिने बताएको जानकारी दिए । ‘मौसम प्रतिकुल भएर हेलिकप्टर उड्न पाएको छैन,’ उनले भने ।