
काठमाडौं । हरेक वर्ष भाद्र १५ गते देशभर राष्ट्रिय पुस्तकालय दिवस मनाइन्छ । ज्ञान, अध्ययन र सचेतना अभिवृद्धिमा पुस्तकालयको भूमिकालाई उजागर गर्ने उद्देश्यले २०६५ सालदेखि नेपालमा यस दिवसलाई औपचारिक रुपमा मनाउन थालिएको हो ।
यस दिवसको ऐतिहासिक पृष्ठभूमि झन् पुरानो छ । वि.सं. १८६९ साल भाद्र १५ गते राजा गीर्वाणयुद्ध विक्रम शाहले पुस्तकालय स्थापना सम्बन्धी कानुनमा लालमोहर लगाएको दिनको सम्झनामा नै यो दिवस रोजिएको हो । त्यसलाई नेपाली पुस्तकालय इतिहासको महत्वपूर्ण मीलका पत्थरका रूपमा लिइन्छ ।
यस दिन पुस्तक प्रदर्शनी, वाचन कार्यक्रम, निबन्ध तथा वक्तृत्व प्रतियोगिता, सचेतनामूलक र्याली, पुस्तकालयको आवश्यकता र आधुनिक प्रविधिसँगको सम्बन्धबारे छलफलजस्ता विविध कार्यक्रम आयोजना गरिन्छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको राष्ट्रिय पुस्तकालयले हरेक वर्ष विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ । सरोकारवालाले भने पुस्तकालय दिवसलाई केवल औपचारिकतामा सीमित नराखी गाउँदेखि शहरसम्म पुस्तकालय पहुँच विस्तार, पुस्तक स्रोत थप्ने र डिजिटल पुस्तकालयलाई प्रवर्द्धन गर्ने अवसरका रूपमा लिनुपर्ने सुझाव दिएका छन् ।
