राप्रपा नीलकण्ठ नगर अध्यक्षमा तेजबहादुर लामिछाने, २१ सदस्यीय कार्यसमिति गठन

Avatar photo
Dhadingpost
भदौ ८, २०८३

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नीलकण्ठ नगरपालिका कार्यसमिति गठन गरिएको छ । भदौ ७ गते जिल्ला कार्यसमितिको कार्यालयमा सम्पन्न नगर भेलाले तेजबहादुर लामिछानेको अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामकाजी पौडेल र पार्वती कोइराला, सचिवमा रवि शाह तथा कोषाध्यक्षमा राजेश्वर धरेल चयन भएका छन् । अन्य पदाधिकारी तथा सदस्यहरू पनि भेलाबाट सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ ।

नयाँ कार्यसमितिले नीलकण्ठ नगरपालिकाका १४ वटै वडामा राप्रपाको संगठनलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै पार्टीका नीति, विचार तथा कार्यक्रमलाई स्थानीय तहसम्म पुर्‍याउने अपेक्षा गरिएको छ ।

नगर भेलाका क्रममा नीलकण्ठ नगरपालिका–११ का राम श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् । उनलाई पार्टीमा स्वागत गरिएको जनाइएको छ ।

नगर अधिवेशन नगर अध्यक्ष श्यामविक्रम शाहको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा राप्रपाका खेलकुद विभाग प्रमुख तथा केन्द्रीय सदस्य ध्रुवविक्रम मल्ल प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य शान्तिमाया गुरुङ, जिल्ला अध्यक्ष ध्रुव खनाल, सञ्चार विभाग सदस्य हरि भण्डारी, जिल्ला समन्वय विभाग सदस्य नवराज धमला, जिल्ला उपाध्यक्ष श्यामबहादुर सिंह ठकुरी तथा गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सुरेश रिजाललगायतको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा नीलकण्ठ नगरपालिकाका सबै वडामा संगठन विस्तार तथा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।