दोलखाका १० केन्द्रमा आज पुन:मतदान

Avatar photo
Dhadingpost
मंसिर १५, २०७९

दोलखा । निर्वाचन आयोगले ‘बुथ कब्जा’ भएको निष्कर्षसहित निर्वाचन रद्द गरेको दोलखाका १० मतदान केन्द्रमा आज पुन:मतदान हुँदै छ ।

आयोगले निर्वाचन सम्पन्न भएको ८ दिनपछि गत ११ मंसिरमा दोलखामा ‘बुथ कब्जा’ भएको निष्कर्षसहित विवादित मतदान केन्द्रमा पुन:मतदान गर्ने निर्णय गरेको हो । यी सबै बुथमा सत्ता गठबन्धनका कार्यकर्ताले कब्जा गरेको उजुरी परेपछि निर्वाच आयोगले छानविन गरेको थियो ।

आयोगले दोलखाका प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १ को वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी ७ केन्द्रको निर्वाचन रद्द गर्दै पुन:मतदान निर्णय गरेको थियो ।

यसैगरी, वैत्यश्वर वडा ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग को मतदान रद्द गर्ने निर्णय पनि आयोगले गरेको छ । आयोगले ती सबै स्थानमा १५ मंसिरभित्र पुन:मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिएको थियो ।