
काठमाडौं । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाल र युएईबीच एकदिवसीय तीन खेलको सिरिजको आज समापन हुँदैछ । पहिलो खेलमा लज्जास्पद पराजय भोगेको नेपालले दोस्रो खेलमा भने युएईलाई पराजित गरेको थियो । यो सिरिजको अन्तिम खेल आज बिहान ९ बजे देखि हुने छ ।
नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया भ्रमण अघि युएईसँग यो सिरिज खेलेको हो । नेपालले डिसेम्बरमा नामिबिया भ्रमण गर्नेछ । नेपाल, नामिबिया र स्कटल्यान्डबीच सिरिज हुनेछ । जुन सिरिज डिसेम्बर २ देखि सुरु हुनेछ ।
नेपाल हाल विश्वकप लिग–२ मा ८ मा जित र ११ मा हार सहित १७ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव विश्वकप लिग–२ मा १६ खेल खेल्न बाँकी छ । जसमा ८ घरेलु मैदान टियु र ८ विदेशी भूमिमा छन् । विदेशी भूमिमा नामिबिया र पपुवा न्युगिनी हुनेछ । नेपाल शीर्ष तीनमा परे सोझैं एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । अन्यथा क्वालिफायर खेल्नुपर्ने हुन्छ ।
यूएई पनि नेपाललाई घरेलु मैदानमा पराजित गरि सिरिज जित्न चाहान्छ । २०१९ मा नेपालले यूएईलाई उसकै घरेलु भुमिमा पराजित गरि तीन खेलको सिरिज २-१ ले जितेको थियो । नेपाल र युएईबीचको यस खेल नवौं खेल हो । हालसम्म खेलिएको ८ खेलमा युएईले ५ पटक जितेको छ । नेपालले तीन पटक आफ्नो बनाएको छ ।

