पाँच घण्टामा ६ पटक भूकम्पको धक्का, डोटीमा घर भत्किँदा तीनजनाको मृत्यु

Avatar photo
Dhadingpost
कार्तिक २३, २०७९

काठमाडौं । सुदूरपश्चिममा पाँच घण्टाको अन्तरालमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । घरमा सुतिरहेको अवस्थामा बिहानको भूकम्पका कारण घरहरू भत्किएर मानवीय क्षति समेत भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डोटीमा भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं। ३ गैरागाउँका पदम बोहराको घर भत्किदा तीन जनाको मृत्यु भएको हो । पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले दिएको जानकारी अनुसार भत्किएको घरमा च्यापिएको अवस्थामा एक महिला र दुई बालबालिका गरी तीन जनाको शव भेटिएको छ ।

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएको ५.७ म्याग्निच्युटको भूकम्प मंगलबार राती ९ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। त्यस्तै बुधबार बिहान २ बजेर १३ मिनेटमा खप्तड क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो ।