
काठमाडौं । तिहारको पाँचौं तथा अन्तिम दिन कार्तिक शुक्ल द्वितीया तिथी आज भाइटिका । दाजुभाईलाई दिदीबहिनीले सप्तरङ्गी टिका लगाईदिने भएकाले यस दिनलाई भाईटिका भनिएको हो । भाईटिकाले दाजुभाई र दिदीबहिनी बिचको प्रेममय सम्बन्धलाई रंगहरु जस्तै सँधै गाढा, ताजा र प्रज्वल बनाईराख्ने विश्वास गरिन्छ आज भाईटिको शुभ साईत ११ बजेर ३७ मिनेट रहेको छ । सप्तरङ्गी टीकामा रङ्गिविरङ्गी भावनाहरु मिसिंदा शान्ति बर्सिन्छ ।
दाजुभाइलाई टिका लगाई दिनुअघि दिदीबहिनीले दियो, कलश र गणेश स्थापना गरी षोडसोपचारले पूजा गर्दछन् । दाजुभाइलाई तेलको धाराले नटुटाई छेक्छन् । त्यसपछि पानीले छेक्छन् । दिदीबहिनीले फूल, अक्षता, चन्दन र लाभाले दाजुभाईको पूजा गर्छन् । शिरमा तोरीको तेल लगाएर कपाल कोरिदिन्छन् । बिमिरो र यमराजको पूजा गरी ढोकाको संघारमा राखिएको ओखर फुटाई कालको बाटो छेक्छन् ।
पूजा विधि सकिएपछि दिदीबहिनीले दाजुभाईको आरोग्य, यश र दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टिका लगाईदिन्छन् । कहिल्यै नओईलाउने मखली, सँधै हरियो रहने दुबो र सयपत्री फुलको माला लगाईदिन्छन् । सगुन स्वरुपमा दही खुवाई दिन्छन् । आफ्ना दाजुभाईलाई सधैं त्यस्तै रुपमा देख्न पाउने विश्वासका साथ चेलिबेटीले त्यसरी माला लगाईदिन्छन् । त्यसपछि सेलरोटी, फलफूल, मिठाइ, मसला, कटुस, कपडा सहितको उपहारहरु समावेश भएको भाग दाजुभाईलाई दिन्छन् । यति गरेपछि दाजुभाईले पनि दिदीबहिनीलाई टिका र माला लगाईदिई दक्षिणा दिन्छन् ।
पौराणिक कथन अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो अनुसार बहिनीकै घरमा गई रमाइलो गरी भाईटिका लगाएको हुँदा काग तिहारदेखि आजसम्मको पाँच दिनलाई यमपञ्चक भनिएको हो । यसरी बहिनी यमुनाका घरमा रहँदा बस्दा यमराज निकै प्रसन्न भई यमुनालाई तिमी जे माग्छ्यौ माग भन्दा यमुनाले पनि हरेक बर्ष आजकै दिन आफुलाई भेट्न आउनुपर्ने, साथै दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाईको आयू कीर्ति सर्वदा बृद्धि होस् भनि मागिन् । यमराजले बहिनी यमुनालाई तथास्तु भनि वरदान दिए । यहि पौराणिक कथन अनुसार अविच्छिन्न रूपमा अहिलेसम्म तिहारलाई मनाईदै आईएको जनविश्वास छ ।










































