
धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले एक अनलाईनलाई अन्तरवार्ता दिँदै प्रणाली सुधार्न नेताले चुनाव हार्न पनि तयार हुनुपर्ने बताएका छन् । पाण्डेले अन्तरवार्ता दिँदै भने ठीक हो, निर्वाचन प्रणाली सुधार्न नेताले पनि अब चुनाव हार्न तयार हुनुपर्छ । मैले तिमीलाई किन मासुभात खुवाउने ? किन पैसा दिने ? मलाई आवश्यक ठान्छौ भोट हाल, ठान्दैनौ नहाल भन्ने आँट गर्नुपर्छ ।
अन्तरवार्ताकै क्रममा उनले भनेका छन् । निर्वाचन प्रणाली महँगो हुँदै गएको छ । जनताले पनि खर्च नगर्ने उम्मेदवारलाई भोट हाल्छु भनेको सुनिंदैन । हामीले आम जनतालाई समेत बिटुल्याइसक्यौं । नख्वाइकन, खर्च नगरिकन चुनाव जितिन्न भन्ने मनोवृत्ति विकास गरिसक्यौं ।
चुनावपछि आउने नेतृत्वले मलाई निर्वाचित गराउने जनताको हित निम्ति महत्वपूर्ण काम गर्नुपर्छ भनेर सोच्नुपर्ने हो, जुन भएको छैन । हुन त यो व्यक्तिमा भर पर्ने कुरा पनि हो । कुनै व्यक्ति पदमा पुग्दा गर्ने काम केही देख्दैन, अर्कोले त्यही पदमा पुग्दा प्रशस्त काम गर्न सक्छ । मलाई नै हेर्नुस् । मुख्यमन्त्री भएको केवल १० महिना भयो । २–३ वटा बजेट प्रस्तुत गर्न पाएको भए धेरै काम गर्न सक्थें ।






















