
हेटौंडा । बागमती प्रदेश प्रहरीको चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना २०७९ लागु भएको जनाएको छ ।
यस वर्षको चाडपर्व शुरु भइसकेको अवस्थामा चाडपर्वको समयमा हुने अपराधीक गतिविधिहरुलाई न्युनिकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रुपमा चाडपर्व मनाउने बातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना लागु गरिएको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले बताए ।
चाडपर्व लक्षित प्रहरीको विशेष सुरक्षा योजनामा बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त अन्तराष्ट्रिय एवं प्रदेश प्रवेश गर्ने सिमा नाकामा तालिम प्राप्त प्रहरी कुकुर सहित नियमित तथा सरप्राईज चेकजाँचको व्यवस्था मिलाउने, नियमित QRT टोली परिचालन गर्ने । नियमित मोवाईल गस्ति परिचालन गर्ने, नियमित पिकेट डिउटीमा थप परिचालन गर्ने, प्रमुख धार्मिक स्थल, वैंकिङ तथा वित्तिय संस्थामा प्रहरी परिचालन गर्ने ।
जिल्ला प्रशासन कार्यालयसंगको समन्वयमा कालो बजारी तथा कृतिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाउने, अन्य सुरक्षा निकाय समेतको सहभागीतामा LRP र SRP परिचालन गर्ने, हुन गर्न सक्ने झैझगडा तथा जुवातास एवं घरेलु मदिरा नियन्त्रण गर्ने, लागु पदार्थ तथा मादक पदार्थ सेवन सम्बन्धित चेकजाँचको व्यवस्था मिलाउने, बसपार्कमा महिला प्रहरी र ट्राफिक प्रहरी सहितको यात्रु सहायता कक्ष स्थापना गरी २४ औं घण्टा प्रहरी परिचालन गर्ने योजना छ ।
यस्तै विशेष योजनामा सवारी दुर्घटना न्यूनिकरणका लागि नियमित राजमार्ग गस्ति परिचालन गर्ने, सवारी साधनहरुका गति नियन्त्रणका लागि राडरगन सहितको विशेष ट्राफिक चेकिङ गर्ने, प्रमुख राजमार्गहरुमा रात्रीकालिन वेश स्थापना गर्ने
सुरक्षा योजना अनुसार मातहत कार्यालयबाट काम कारवाही भए नभएको सम्बन्धमा प्रदेश प्रहरी कार्यालयबाट नियमित अनुगमन एवं सुपरिवेक्षणको व्यवस्था मिलाउने गरी उल्लेखित सुरक्षा योजनामा समेटिएको छ ।
चाडपर्व लक्षित सुरक्षा योजना अनुरुप जनपद, ट्राफिक तथा सादा पोशाकमा समेत गरी जम्मा ५,३३२ जना प्रहरी टोली परिचालित हुनेछन ।
