नवराज लम्साललाई धादिङमा सम्मान

Avatar photo
Dhadingpost
भदौ २९, २०७९

धादिङ । नेपाल प्रेस युनियन धादिङ, भानु प्रतिष्ठान र पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ धादिङको ब्यानरमा यस वर्षको मदन पुरस्कार विजेता कृति ‘अग्नि’का लेखक नवराज लम्साललाई सम्मान गरिएको छ ।

अभिनन्दन समारोहमा बोल्दै लम्सालले विपन्न, मजदुर, दलित र पछाडी पारिएको विषयमा वकालत गरेर नेपाली साहित्यमा थोरै कृति मात्र जन्मिएको बताउँदै मदन पुरस्कार विजेता कृति अग्निले त्यस्ता पछि पारिएको र विभेदमा पारिएको समुदायलाइ सम्वोधन गरिएको बताएका थिए ।

लम्साललाई धादिङबेसी बजारको चोक चोकमा आमनागरिकहरुको तर्फबाट बधाइ र सम्मानको ओइरो लागेको थियो । टोल सुधार समितिका पदाधिकारीहरु, सदरमुकाम आसपासका विद्यालयहरु किवो बोर्डिङ, एडभान्स एकेडेमी, सुनगाभा एकेडेमी, नीलकण्ठ मावि, नीलकण्ठ क्याम्पस, चिल्ड्रेनपार्क मावि, बालमन्दिर मावि, धादिङ बोर्डिङ लगायतका विद्यालयहरु र नीलकण्ठ नगरपालिकाको ३ नम्वर वडा कार्यालयले सम्मान गरेका थिए ।

लम्सालद्धारा लिखित महाकाब्य अग्निले २०७८ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । नेपाली साहित्य जगतमा मदन पुरस्कारलाइ उच्च सम्मानको रुपमा लिइन्छ । वि सं २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको भएको थियो ।

वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान विदुषीहरूलाई यो पुरस्कार प्रदान गर्ने गरिन्छ । मदन पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्ने ४ लाख रुपैया राशीको उक्त पुरस्कार आगामी घटस्थापनाको दिन प्रदान गरिदैछ ।