
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ का वढाध्यक्ष किशोर सेढाइ स्कुल भर्ना भएका छन् । वडाध्यक्ष सेढाईले आफ्नै वडामा रहेको सुनखानी माध्यामिक विद्यालयमा कक्षा ११ को शिक्षा संकायमा आईतबार भर्ना गरेका हुन् ।
शिक्षक हरिचन्द्र आचार्य आचार्यका अनुसार चन्डेश्वरी माविबाट २०६५ सालमा एसएलसी उतिर्ण उनुभएका वडाध्यक्ष सेढाईले भर्ना गरे सँगै सकेसम्म नियमित कक्षामा उपस्थिति हुने र पढ्ने बताएका थिए ।
कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्दै वडा अध्यक्ष सेडाईले भने “एसएलसी उतिर्णपछि काठमाडौ गएर पढ्ने भनेर हिडियो । काठमाडौ कोठा भाडा, खाजा, खाना, विद्यालय फिस, ड्रेस, किताब, कापी के के हो के के ! हामी जस्ता निम्न वर्गीया परिवारको मान्छेलाई केहि काम नगरि टिक्नै नसकिने । त्यसपछि पढाइलाई निरन्तरता दिन पनि सकिएन ।

त्यतिबेला लाग्थ्यो, अब मेरा लागी पढाइ आवश्यक पनि छैन । तर अहिले आएर पढाइको महत्त्व बुझ्दै छु । म तपाईंहरु सङ्गै बसेर पढ्ने छु । तपाई हरुले जानेको कुरा मलाई सिकाउनुहोस । मैले जानेको कुरा तपाईंहरुलाई सिकाउला । विद्यार्थी भएर विद्यालयमा आउँदा यहाँको समस्या सङ्ग पनि परिचीत हुने मौका मिलेछ र त्यसलाई समाधान गर्न पनि मेरो तर्फबाट भरपुर कोशिश गर्ने छु । ” वडा अध्यक्ष सेढाईको कक्षा ११ मा भर्ना हुनु बीचमै पढाई रोकिएर बसेकाहरुका लागि समेत प्रेरण भएको शिक्षक आचार्य बताउँछन् ।
