चेपाङको न्वागी पर्व, लोप हुने चिन्तामा पुरानो पुस्ता

Avatar photo
Dhadingpost
भदौ २४, २०७९

धादिङ । सानो घर। घरभित्रको एक कुनामा वर्षभरि बारीमा फलेका तरकारी तथा फलफूल। नाङ्लोमा धान, चामल, कागतीलगायतका फलफूल। आडैमा बसेर भूमिपूजा र पितृ बुझाउन पान्दे (चेपाङ झाँक्री) ढ्याङ्ग्रो ठटाएर मन्त्रोच्चारण गरिरहेका छन्। न्वागी मनाउन आइपुगेका आफन्त र छरछिमेकी नाचगान र भलाकुसारीमा मस्त छन्।

चेपाङ समुदायले आफ्नो मुख्य पर्व न्वागी यो वर्ष पनि मनाएका छन्। कुल रिसाउन र अनिष्ट हुनबाट बच्न पितृलाई नयाँ बाली बुझाएर र अन्न फलेको भूमिको पूजा गरेर न्वागी मनाउने गरेको बताउँछन् पान्देहरू। धादिङको बेनिघाट रोराङ गाउँपालिका– ३ माथिल्लो ओर्वाङका ८३ वर्षीय जितबहादुर चेपाङ मूल झाँक्री हुन्। न्वागी अर्थात् ‘छोनाम’ मनाउन बुधबार रातभर मन्त्र फलाकेर बिताए उनले। ‘नयाँ बाली पितृलाई नबुझाई र अन्न फलेको भूमिको पूजा नगरी खायो भने कुल रिसाउँछ, मानिस बिरामी पर्छ, अनिष्ट भएरै छोड्छ,’ उनले भने, ‘रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमिलाई धन्यवाद दिने गरिन्छ। संस्कृति जोगाउन, रमाइलो गर्न तथा भूमि र पितृ बुझाउन न्वागी मनाउदै आएका छौँ।’

धर्म परिवर्तनले मौलिक संस्कृति धरापमा परेकाले यसलाई पहिचान र सांस्कृतिक अस्तित्वको लडाइँका रूपमा समेत अर्थ्याए उनले। ‘अहिले धेरै किसिमका धर्म आउन थाले। हामी चेपाङले हाम्रै संस्कृति चिन्न र जोगाउन मुस्किल छ।’

आफूहरूलाई खान दिने भूमिको पूजा नगरी खुसी हुन नसकिने भन्दै पुराना पुस्ताका व्यक्ति नयाँ पुस्ताले आफ्नो संस्कृति भुल्ने हो कि भन्ने पिरमा छन्। ‘म २२ वर्ष हुँदादेखि पूजा गर्दै आएको छु। म झाँक्री हुन्छु भनेर हुन पाउने होइन, सपनामा आउनुपर्छ,’ जितबहादुरले भने, ‘हामीलार्ई खान दिने भूमि र पितृको पूजा नगरी कसरी सन्तुष्टि लिन सक्छौँ ? हामीभन्दा पछाडिका पिँढीले संस्कृति जोगाउन सक्छन् कि सक्दैनन् भन्ने चिन्ता लाग्छ।’

यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौँलालगायतका कन्दमूल पितृलाई बुझाउने र भूमि पूजा गरी धन्यवाद दिने चलन छ। ज्येष्ठ नागरिकले संस्कृति जगेर्नाको चासो गरिरहँदा ओर्वाङका चेपाङ समुदायमा युवा झाँक्रीहरू पनि भेटिन्छन्। ओर्वाङकै सोमबहादुर चेपाङ पनि गत मध्यरातमा ढ्याङ्ग्रो बजाएर फलाकिरहेका थिए। २२ वर्षीय सोमबहादुर भन्छन्, ‘आफूलाई सानैमा सपनामा आएर मन्त्र दिएको थियो। त्यतिखेर याद भएन। तर, १२-१५ वर्ष हुँदा याद आयो, म झाँक्री भएँ।’

चेपाङ संघ बागमती प्रदेश समितिका कोषाध्यक्ष उद्दव चेपाङका अनुसार न्वागीमा बलि दिने चलन पनि छ। उनले भने, ‘भोलिपल्ट पितृ बुझाउने, कृषिजन्य उत्पादन हुने भूमिलाई धन्यवाद दिने र पितृलाई भोग (बलि) दिने गरिन्छ। हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाइन्छ। भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यो पूजा गरिन्छ। चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाई खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ। यसका लागि पान्दे (चेपाङ झाँक्री)हरूले एकपाखे ढ्यांग्रोे ठोक्दै कुखुराको बलि चढाउने प्रचलन रहिआएको छ।’

धादिङ जिल्लाको नाम पनि चेपाङ (प्रजा) भाषाबाटै राखिएको भन्ने कथन रहेको छ। ‘धा’ भनेको ‘आगोको ज्वाला’ र ‘दिङ’ भनेको ‘देवी–देउता’ हो। यसैलाई मिलाएर धादिङ नाम बसेको बताइन्छ।

चेपाङहरू मुख्यगरी प्रकृति धर्म मान्छन्। उनीहरू जंगलका गिठा–भ्याकुर खाएर जीवन धान्ने भएकाले वनजंगलसँग राम्रो साइनो गाँसिएको हुन्छ। त्यसैले प्रकृतिको पूजा उनीहरूका लागि महत्वपूर्ण हुन्छ। यो वर्ष पनि वर्षभरि मृत्युवरण गरेका परिवारका सदस्य र आफन्तको नाममा बुधबार रातभर ढ्याङ्ग्रो ठटाउँदै फलाकेर उनीहरले बिहान न्वागी पूजा गरे।

धादिङको दक्षिणी क्षेत्रको विभिन्न ठाउँमा चेपाङ जातिको बसोवास रहेको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार चेपाङ जातिको जनसंख्या ६८ हजार तीन सय ९९ रहेको छ । ठाउँ र कुलअनुसार पनि चेपाङहरूले न्वागी मनाउने चलन फरकफरक छ। नयाँ पत्रिकाबाट