तेस्रो बागमती प्रदेश स्तरीय खेलकुदका लागि धादिङमा खेलाडी छनोट जेठ ८ देखि

Avatar photo
Dhadingpost
जेष्ठ ४, २०८३

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट सहभागी हुने खेलाडी छनोट प्रक्रिया जेठ ८ गतेदेखि ११ गतेसम्म सञ्चालन गर्ने भएको छ ।

आज जिल्ला खेलकुद विकास समिति धादिङको कार्यालयमा बसेको प्रशिक्षक तथा विभिन्न खेलसँग सम्बन्धित जिल्ला संघका प्रतिनिधिहरूको बैठकले खेलाडी छनोटको मिति तय गरेको हो । बैठकमा समितिका अध्यक्ष प्रतापसिंह तामाङले जेठ ११ गतेभित्र सबै खेलको छनोट प्रक्रिया सम्पन्न गर्न सम्बन्धित संघहरूलाई निर्देशन दिएका छन् ।

निर्णय अनुसार भलिबल खेलको छनोट जेठ ९ गते धादिङबेसीमा, फुटबलको छनोट जेठ १० गते धादिङबेसीमा, उसु-जेठ ८ तथा क्रिकेटको छनोट गजुरीस्थित गलौंदी खेल मैदानमा हुने जनाइएको छ ।

हेटौंडामा जेठ २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा धादिङबाट विभिन्न १३ विधाका खेलमा सहभागिता रहनेछ । प्रतियोगितामा आईटिएफ तेक्वान्दो, उसु, एथलेटिक्स, टेबल टेनिस, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, बक्सिङ, तेक्वान्दो, कराते, बुद्धिचाल, फुटबल, क्रिकेट, भलिबल तथा जुडो खेल समावेश गरिएका छन् ।

जिल्ला खेलकुद विकास समितिले समयमै तयारी पूरा गरी उत्कृष्ट खेलाडी छनोटमार्फत धादिङको सशक्त सहभागिता सुनिश्चित गर्ने जनाएको छ ।