
काठमाडौं । बालबालिकालाई विभिन्न प्रलोभन देखाइ भारतमा लगेर मिर्गौला बिक्री गर्ने गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले उक्त गिरोहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा गुल्मी धागीथुङ–२ का ३१ वर्षीय विजय कुँवर, दैलेख तिलुखाना–६ का ३२ वर्षीय विमलबहादुर शाही, दैलेखकै चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ का २९ वर्षीय धुपेन्द्रबहादुर शाही, रामेछापका धनबहादुर रोका र झापाका आशिष तामाङ छन् ।
उनीहरूले समूह समूह बनाइ कसैले काठमाडौंको सडक पेटीमा बालबालिकासँग चिनजान गरी मिर्गौला बिक्रीका लागि विभिन्न लोभ देखाउने, कसैले मिर्गौला ग्रहणकर्ता खोज्ने र काठमाडौंका पोलिक्लिनिकमा मिर्गौला दाताले गर्नुपर्ने रगत जाँच गराई भारतको कोलकत्ता लैजाने गरेको अनुसन्धानबाट खुलेको छ ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार विमल शाही र धनबहादुरले आफू भारत गएर मिर्गौला बिक्री गरेर आएको अनुसन्धानबाट खुलेको छ ।
‘आफूहरूले पनि मिर्गौला बेचेर पैसा कमाएको भन्दै त्यही खत देखाएर अरुलाई फकाउने गरेको पाइयो’, घटना विवरण सार्वजनिक गर्दै मल्लले भने, ‘भारतको कलकत्ता गई मगौला बिक्री गर्दा ५ लाख रूपैया कमाई हुन्छ । फर्किँदा ५० हजार पर्ने मोबाइल पनि दिने भनेर फकाउने गरेका रहेछन् ।’
केही बालबालिकालाई सहमत गराई होटलमा खानेबस्ने व्यवस्था मिलाएर राखेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । मिर्गौला बेच्न भारत लैजान ठिक्क पारिएका बालबालिकाको सूचनाका आधारमा प्रहरी उक्त गिरोहसम्म पुगेको हो ।
