मीनाको धादिङदेखि तुलसालय सम्मको यात्रा अपडेट

Avatar photo
Dhadingpost
जेष्ठ २९, २०७९

सरू सुवेदी /
गत वैशाखको त्यस्तै २० गतेतिर धादिङ जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार धनमाया भुसालले फोनमा भन्नुभयो
“म्याम हजुरले अनाथ तथा वेवारिसे व्यक्तिहरुको उद्धार गर्नुहुने रहेछ । यहाँ अन्दाजी २४/२५ वर्षकि जस्तो देखिने एक बेवारिसे महिला गत भदौदेखि हिँड्ने गर्थिन् । सडक सडक हिँड्ने मानसिक सन्तुलन गुमाएकी उनी अहिले गर्भवती जस्तो देखिन थालेकिछिन् । लौन हजुरले तिनको पनि उद्धार गरिदिनुपरो ।”

एक मनले त खुशी पनि लाग्यो कि तुलसालयको फेसबुक पेज देखेर उहाँले फोन गरी उद्धारका लागि आग्रह गर्नुभयो । तर यस्तो हालतकी ती युवती त्यो पनि गर्भवती जस्तो देखिने भनेपछि उनको अवस्था के होला भन्ने पिरलो मनमा आइरह्यो । उतिबेलै जाउँ जाउँ लाग्यो तर आफ्नो साधन थिएन। बसमै जाने निधो त गरेँ तर त्यस बखत तुरुन्तै धादिङ जाने अवसर जुरेन ।

फेरि त्यही दिन यहाँ ललितपुरको सातदोबाटोमा एक बेवारिसे व्यक्ति २० दिनदेखि सडक पेटीमै सुतेको भन्दै सहयोगका लागि अर्काे अनुरोध आयो । बंगाली भनिने उनी सडकमै निकै जीर्ण सास फेरिरहेको भनेपछि उनको उद्धार गरेर तुलसालय आश्रममा ल्यायौँ । हाम्रो स्याहारका बाबजुत उनी “आमा-आमा” भन्दै तुलसालय मै प्राण त्यागे । उनको यो अवस्थाले हामी केही दिन मर्माहत भयौँ । यता प्रहरी हवल्दार भुसालजीले फोन गरिरहनु भयो । बीचमा चुनाव र अर्कातर्फ म आफू बसमा गएर उनको उद्धार गरी कसरी ल्याउने भन्ने भएर आँट्नै सकिन ।

अन्ततः धादिङबेसी जाने निधो गरेँ । त्यसअघि नै धादिङको नीलकण्ठ नगरपालिकाको पहलमा उनको स्वास्थ्य उपचार गराउन लगाइयो । भाग्यबास उनी गर्भवती नरहेको तर पाठेघरमा भने समस्या देखिएकै रहेछ । त्यसकारण उनको दाहिने खुट्टा बेस्सरी सुन्निएको रहेछ ।

बिहीबार लोकल बसमा चडेर राति त्यस्तै ९ बजे पुगेँ र धादिङबेँसी बसेँ । शुक्रबार बिहानै नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्र. ढुंगाना ज्यूलाई भेटेँ । उहाँ वास्तविक जनप्रतिनिधि रहेको तथ्य पनि आफ्नै आँखाले देखेँ । हामी त्यहाँ पुग्नासाथ उहाँले सोध्नुभयो-” भन्नु त मैले के सहयोग गर्नुपर्छ ?” हामीले भन्यौँ-“हामी त हिजो लोकल बसमा आएका, अब यी युवतीलाई तुलसालय लैजान साधन चाहियो” । उहाँले उत्तिनै खेर प्रशासनलाई “ती युवतीलाई एक सवारीसाधन खोजेर काठमाडौँसम्म पुर्यादिनु, त्यसको बिल नगरपालिकाले तिर्छ” भनी आदेश दिनुभयो ।

यस अभियानमा उक्त नगरपालिकाको वडा नं ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ ज्यूको सहयोग पनि प्रसंशनीय छ । उहाँले यहाँसम्म ल्याउनका लागि आवश्यक कागजात बनाइदिनुभयो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक डि.जे. थिङ ज्यूले हामीलाई कागजात लगायतका अन्य सहयोग गरिदिनुभयो । त्यसपछि उहाँहरु सबैको सहयोग र रोहबरमा ती युवतीलाई तुलसालयमा ल्यायौँ ।

यहाँ ल्याएपछिको पीडा फेरि अर्कै छ । उनलाई नुवाइ धुवाई गर्ने क्रममा देखियो उनको शरीरमा, छातीमा, स्तनमा मान्छेले टोकेका जस्ता दाग छन् । दाँतमा डोबहरु छन् तर उनलाई शरीरमा कहाँ दुखेको छ भन्ने यकिन भने छैन ।अवस्था देख्दा अत्यन्तै पिडादायी उन्को नाम सोध्दा मिना चाहिँ भन्छिन् । मिनालाई नुहाई-धुवाई सकेर नयाँ लुगा लगाइदिएँ।अहिले यहाँ आश्रममा रहेका अरु आमा दिदी बहिनीले उनलाई माया गर्न थालेका छन् । हिजो खाना खाएर मज्जाले निदाइन् । आज उनको अवस्था ठीक छ । उनलाई तुलसालय आश्रमसम्म ल्याइ पुर्याउने सहयोग गर्ने सम्पुर्णमा तुलसादेवी हरिहर फाउन्डेसनका तर्फबाट विशेष धन्यवाद दिन चाहन्छौँ ।