नेपाली १ हजारका नक्कली नोटसहित ३ जना पक्राउ

Avatar photo
Dhadingpost
जेष्ठ २१, २०७९

धनगढी । धनगढीबाट नेपाली अवैध नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका–१ बाट एक हजार दरका ३८ थान नक्कली नेपाली नोटसहित तीन जनालाई शुक्रबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–७ बस्ने ३५ वर्षीया सुमित्रा राना, सोही उपमहानगरपालिका–८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र सोही उपनगरपालिका–२ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका–१४ घर भएकी २७ वर्षीया रितु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त स्थानमा सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई १ हजार दरका ३० थान नक्कली नेपाली नोट फेला पारी पक्राउ गरेको थियो । थप सोधपुछ गर्दा उक्त कारोबारमा चन्द्रा समेत संलग्न रहेको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा रितु चौधरीको कोठाबाट १ हजार दरका ८ थान नक्कली नोट फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।