
हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आथिर्क वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकले सरकारको आगामी आवको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमालेका तर्फबाट ७ जना, विवकशील साझा पार्टीका १ जना र नेमकीपाका १ जना गरी ९ जना प्रदेशसभा सदस्यहरुले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
उनीहरुले सरकारको नीति तथा कार्यक्रमको १५ वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । संशोधन प्रस्ताव अस्वीकृत भएपछि प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका हुन् । सभामुख श्रेष्ठले प्रदेशसभाको बैठक जेठ ३१ गते दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका हुन् । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत पेश हुने जनाइएको छ ।
