
हेटौंडा । बागमती प्रदेशसभाको दशौं अधिवेशन पेसभएको आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रमा आज पास गर्ने तयारी गरिएको छ । आज बिहानबाट बस्ने बैठकमा प्रदेशसभाका केही सांसदहरूले सरकारको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राख्नेछन् भने त्यस लगत्तै सदनबाट नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको छ ।
सत्तारुढ दल, प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दल गरी २० जना प्रदेशसभाका सदस्यहरुले नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राखेका थिए । बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजावादी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका संसद्हरुले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वागत योग्य रहेको बताएका थिए । उनीहरुले विगतमा ४ वर्षसम्म सरकारको नेतृत्व गर्ने दलले ल्याउन नसकेको योजनाहरु नीति तथा कार्यक्रममा समावेश गरेर सरकारले जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्न सफल भएको बताए ।
यस्तै, प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, केशवराज पाण्डे, अरुण नेपाल लगायतले सरकारको नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै सरकार चुनावी एजेण्डा बाँड्न सक्रिय रहेको बताए । उनीहरुले सरकार आफ्ना कार्यकर्ता पोस्न ऐन विपरितका योजनाहरु ल्याउन सक्रिय रहेको आरोप लगाए । विगतमा जस्तै सरकारले ऐन विपरित चुनावी एजेण्डाका रुपमा टुक्रे योजनाहरु ल्याउने प्रकृतिको नीति तथा कार्यक्रम ल्याएको बताए ।
यता अन्य प्रतिपक्ष दलका सांसद्हरुले सरकारले आफ्नो नीति तथा कार्यक्रम स्थानीय सरकारको जस्तो भएको र सरकारले आफ्नो क्षेत्राधिकार बिर्सेर वडा तहमा समाजवादी कार्यक्रमको योजना ल्याएको भन्दै प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार बिर्सन नहुने बताए ।
उनीहरुले प्रदेश सरकारले क्लाइमेट चेन्ज र विपद् व्यवस्थापनका योजनाहरुमा पनि पर्याप्त काम गर्ने नीति तथा कार्यक्रम ल्याउन नसकेको उल्लेख गरे । कृषि क्षेत्रको विकास यन्त्रिकरणले मात्र सम्भव नरहेकाले आधुनिकीकरण र प्रविधिकरण गर्न जरुरी रहेकोले कम जमिनको प्रयोग गरेर बढी उत्पादन गर्न तर्फ सरकारले योजनाहरु ल्याउनु पर्नेमा जोड दिए ।
