
सिन्धुली । ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान बनाएका छन् ।
सिन्धुलीका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् ।उनलाई मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
यसअघि सन् २००९ मा भारतकी ज्योति आम्गे ६१.९५ सेन्टिमिटर (२ फिट) अग्ला विश्वको सबैभन्दा होची किशोरी घोषित भएकी थिइन् । सन् २०११ मा उनको १८ औं जन्मदिनमा ६२.८ सेन्टिमिटर (२ फिट ०.७२ इन्च) नाप्दै उनी विश्वकै सबैभन्दा होची महिलाको रूपमा पुष्टि भइन् र एक दशकभन्दा बढी समयदेखि यो रेकर्ड कायम राखेकी छिन्।
