विप्लव नेकपाबाट निष्कासित

Avatar photo
Dhadingpost
बैशाख २१, २०७९

चितवन । नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेलाले पार्टी महासचिव विप्लवलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको छ । आज चितवनमा सुरु भएको पार्टी केन्द्रीय समितिको विशेष राष्ट्रिय भेलाले विप्लव सिद्धान्तबाट विचलित भएर पार्टी र क्रान्तिलाई धोका दिएको भन्दै पार्टीबाट निष्कासन गरेको हो ।

विशेष राष्ट्रिय भेलाको अध्यक्षता गरिरहेका नेकपा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे’ ले पार्टीले सिद्धान्तबाट विचलित भएर दलाल पुँजीवादी संसद्‌वादमा पतन हुँदै चुनावमा गएका विप्लवलाई कारबाही गरी निष्कासन गरिएको बताए ।

भेला आयोजक समितिका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विप्लव दार्शनिक रुपले सारसङ्ग्रहवादी, राजनीतिक रुपमा संसदीय संशोधनवादी, सङ्गठनात्मक रुपमा निषेधात्मक अधिभूतवादी र विसर्जनवादी, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक दृष्टिले जुझारु अर्थवादी हुँदै क्रान्तिलाई विसर्जन गर्ने बाटोमा लागेपछि निष्कासनको कारबाही गर्नुपरेको बताए ।

नेकपाका संयोजक कञ्चनले दलाल संसद्‌वादी राज्यसत्ताले गराएको चुनाव कार्यनीतिक मात्र नभएर रणनीतिक विषय भएकाले यसको उपयोगले पुँजीवादलाई सहयोग गर्ने बताए ।

देशका ७७ जिल्ला, जवस/मोर्चा, विभाग, प्रवासलगायत क्षेत्रबाट विशेष राष्ट्रिय भेलामा सहभागी तीन सयभन्दा बढी प्रतिनिधिलाई स्वागत गर्दै नेकपाका नेता सुदर्शनले क्रान्तिकारी विचारको रक्षाले मात्र क्रान्ति सम्भव हुने प्रष्ट पारे । विप्लवलगायत नेकपाको एउटा सानो झुण्ड क्रान्तिका विरुद्ध दलाल पुँजीवादलाई सहयोग गर्ने गरी गम्भीर रुपमा विचलित भएकाले विचार त्याग गर्नेहरुलाई कारबाही गरेर क्रान्तिकारीहरुको केन्द्रीकरणमार्फत क्रान्तिलाई सम्भव बनाउनेतर्फ आफूहरु अघि बढेको उनले बताए । क्रान्तिमा विचार प्रमुख हतियार रहेको र विप्लवहरुले विचार नै समाप्त पारेकाले पार्टीको विशेष राष्ट्रिय भेला आयोजना गर्नुपरेको उनको भनाइ थियो ।

पार्टी केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेले कार्यक्रम सञ्चालन गरिरहेका छन् । विशेष राष्ट्रिय भेलामा संयोजक कञ्चनले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि छलफल सुरु हुनेछ ।