
काठमाडौं । प्लास्टिकको डोरीले कुकुरको घाँटीमा पासो लगाइ रुखमा झुण्ड्याएर मारेको आरोपमा प्रहरीले २३ वर्षीय एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१९ वस्ने २३ वर्षीय सुदीप परियार छन् । परियारलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार परियारले पोखराको जोगिमणि मार्गस्थित सार्वजनिक स्थानमा प्लास्टिकको डोरीले कुकुरको घाँटीमा बाँधी (पासो लगाइ) रुखमा झुण्डाएर मारेका थिए।
उनले कुकुर मारेको भिडियो फेसबूक लगायत सामाजिक सञ्जालमा समेत राखेका थिए। परियारले कुकुर मारेको भिडियो फेसबूकमा देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका परियारविरुद्ध पशुपंक्षीसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। परियारविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले ९ दिन हिरासतमा राख्ने अनुमति दिएको छ।
