
धादिङ । धादिङ गजुरी गाउँपालिका–५ घर भई हाल भक्तपुर चागुनारायण–५ बस्दै आएका २४ वर्षीय विनोद श्रेष्ठ चितुवाको छाला र खप्परसहित पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट चितुवाको छालासहित श्रेष्ठलाई पक्राउ गरेको हो । उनी सँगै अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने अन्यमा गुल्मीको चन्द्रकोट गाउँपालिका–७ घर भई झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, ओखलढुंगाको खिजिघोम्बा गाउँपालिका–९ घर भई हाल भक्तपुरको चागुनारायण नगरपालिका–५ बस्ने २९ वर्षी फुरी शेर्पा र सिन्धुली कमलामाई नगरपालिका–४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्ने ३० वर्षीय विकास पुर्कुटी रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले दुई थान चितुवाको छाला, छाला बिनाको चितुवाको टाउँकोको खप्पर एक थान, चार थान मोबाईल फोनसमेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेका चारै जनालाई थप आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।



























