
काठमाडौं । अध्यक्ष प्रचण्डले पार्टी पंक्तिमा परिपत्र जारी गर्दै प्रत्येक जिल्लामा कम्तिमा पनि एक पालिका प्रमुख महिला र एक पालिका एक वडामा महिला अध्यक्षको उम्मेदवारी दिनु पर्ने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) ले सत्ता गठबन्धन दलसँग तालमेल हुन नसकेका स्थानीय तहमा गठबन्धन दलसँगै चुनावी प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए पार्टी केन्द्रको अनिवार्य स्वीकृति लिनुपर्ने निर्णय गरेको छ ।
गठबन्धन तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने तर केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरुवीच प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए केन्द्रको स्वीकृती लिनुपर्ने निर्णय माओवादीले गरेको हो ।
सोमबार सत्तागठबन्धन दलका शीर्ष नेताहरुले देशभर ठाँउ र आवश्यकता अनुसार चुनावी तालमेल गर्न, आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न गठबन्धनमा रहेका दलका नेता कार्याकर्तालाई संयुक्त अपिल जारी गरेलगत्तै प्रचण्डले पार्टी पंक्तिलाई विशेष परिपत्र गरेका थिए ।











