धादिङको विजय सुरुवात ब्याडमिण्टनमा महिलाले रामेछाप र पुरुषले भक्तपुरलाई हरायो

Avatar photo
Dhadingpost
फाल्गुन २९, २०७८

धादिङ । बागमती प्रदेश सरकारको आयोजनामा आजबाट सुरुभएको प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा धादिङले विजय सुरुवात गरेको छ ।

हेटौडामा आज देखि जारी भएको ब्याडमिण्टन प्रतियोगितामा धादिङले पुरुष तर्फ भक्तपुरलाई र महिलातर्फ रामेछापलाई हराउँदै विजय सुरुवात गरेको हो ।

धादिङबाट पुरुष ब्याडमिण्टन तर्फ सविन तामाङ, इश्वर थापा मगर, राम मल्ल, अश्विन मगर, आशिष राना, मोहन गुरुङ र महिला खेलाडी तर्फ वविता पुरी, रुविना थापा, निप्ठा श्रेष्ठ, सूचना अधिकारी, कविता बस्नेत, लक्ष्मी धमला रहेका छन् । दुबै टिमको कोच बुद्धिबहादुर थापा र म्यानेजरमा अन्जान श्रेष्ठले गरेका छन् ।

बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा फुटबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स र बक्सिङ समावेश गरिएको छ । मकवानपुरको हेटौंडाले तीन खेलको आयोजना गर्ने अवसर पाएको छ । पिप्ले क्याम्पा रंगशालामा २९ फागुनदेखि पुरुष फुटबल हुदैछ । थानाभर्याङ कभर्डहलमा सोही दिनदेखि नै ब्याडमिन्टन हुनेछ । भुटनदेवी स्कुलमा चैत्र ५ देखि तेक्वान्दो हुनेछ ।

चितवनमा फागुन ३० देखि भलिबल र क्रिकेट एकै साथ सुरु हुनेछन् । माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरु संचालन हुनेछन् ।

त्यस्तै काठमाडौको दशरथ रंगशालामा चैत्र ६ देखि एथ्लेटिक्स हुनेछ । समापनसहित दुई खेलको आयोजना गर्ने अवसर काभ्रेले प्राप्त गरेको छ । महिला फुटबल चैत्र ७ देखि धुलिखेल फुटबल मैदानमा शुरु हुनेछ । चैत्र ९ देखि काभ्रेपलाञ्चोकमा बक्सिङ हुनेछ । सिन्धुपालञ्चोकमा चैत्र ७ गते देखि कराते शुरु हुनेछ । प्रतियोगिताको समापन चैत्र १२ गते काभ्रेपलाञ्चोकमा हुनेछ ।

प्रतियोगितालाई भब्य, व्यवस्थित र पारदर्शी बनाउन मुल आयोजक समितिका अलवा ६ वटा उपसमिति र ८ वटा प्राविधिक समिति गठन गरिएको छ । प्रतियोगितामा महिलातर्फ ९३९ र पुरुषतर्फ १२४९ गरि कुल २१८८ जना खेलाडीले आ–आफ्नो विधामा स्पर्धा गर्नेछन् ।