
धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले बागमती प्रदेश सरकारको आयोजनामा सुरुभएको प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको लागि आज भलिबलका खेलाडीहरुलाई विदाई गरेको छ । जिल्ला खेलकुद विकास धादिङका अध्यक्ष प्रतापसिं तामाङले भलिबलका खेलाडीहरुलाई धादिङबेसीबाट प्रदेश स्तरीय प्रतियोगिताको लागि विदाई गरेका हुन् । हिजो अध्यक्ष तामाङले ब्याडमिण्टका खेलाडीहरुलाई विदाई गरेका थिए ।
प्रदेशका लागि धादिङबाट छनोट भएका भलिबल खेलाडीहरुमा वैकल्पित समेत गरी पुरुष तर्फ: विजय गुरुङ, प्रकाश तामाङ, अमल आले, विदुर इटनी, प्रताप तामाङ, विजय तामाङ सोलमान तमाङ, राजकुमार तामाङ, सम्राट श्रेष्ठ, मिलन न्यौपाने, सविन श्रेष्ठ र मनोज श्रेष्ठ छन् । यस्तै महिला तर्फ: गंगा गुरुङ, जमुना तामाङ, कृषला बराम, सर्मिला तामाङ, रोजिना बराम, आक्रिती बराम, पार्वती बराम, सरिना श्रेष्ठ, प्रतिक्षा थापामगर, मर्सिफुल तामाङ, सिम्रन अर्याल र प्रवीना क्षेत्री रहेका छन् ।
प्रतियोगितामा फुटबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स र बक्सिङ समावेश गरिएको छ । मकवानपुरको हेटौंडाले तीन खेलको आयोजना गर्ने अवसर पाएको छ । पिप्ले क्याम्पा रंगशालामा २९ फागुनदेखि पुरुष फुटबल हुदैछ । थानाभर्याङ कभर्डहलमा सोही दिनदेखि नै ब्याडमिन्टन हुनेछ । भुटनदेवी स्कुलमा चैत्र ५ देखि तेक्वान्दो हुनेछ ।
चितवनमा फागुन ३० देखि भलिबल र क्रिकेट एकै साथ सुरु हुनेछन् । माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरु संचालन हुनेछन् ।
त्यस्तै काठमाडौको दशरथ रंगशालामा चैत्र ६ देखि एथ्लेटिक्स हुनेछ । समापनसहित दुई खेलको आयोजना गर्ने अवसर काभ्रेले प्राप्त गरेको छ । महिला फुटबल चैत्र ७ देखि धुलिखेल फुटबल मैदानमा शुरु हुनेछ । चैत्र ९ देखि काभ्रेपलाञ्चोकमा बक्सिङ हुनेछ । सिन्धुपालञ्चोकमा चैत्र ७ गते देखि कराते शुरु हुनेछ । प्रतियोगिताको समापन चैत्र १२ गते काभ्रेपलाञ्चोकमा हुनेछ ।
प्रतियोगितालाई भब्य, व्यवस्थित र पारदर्शी बनाउन मुल आयोजक समितिका अलवा ६ वटा उपसमिति र ८ वटा प्राविधिक समिति गठन गरिएको छ । प्रतियोगितामा महिलातर्फ ९३९ र पुरुषतर्फ १२४९ गरि कुल २१८८ जना खेलाडीले आ–आफ्नो विधामा स्पर्धा गर्नेछन् ।
