
धादिङ । सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि गिटी–बालुवा धुने मेसिनको विषयमा भएको विवादका क्रममा कुटपिट गरी फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सिद्धलेक गाउँपालिका–७ निवासी ४८ वर्षीय विशाल भन्ने रुद्र बहादुर गिरीले २०८३ असार ३२ गते सिद्धलेक गाउँपालिका–५ बुढुचुकस्थित सार्वजनिक स्थानमा गिटी–बालुवा धुने मेसिनको विषयलाई लिएर भएको विवादका क्रममा गाउँपालिका अध्यक्ष ४९ वर्षीय परशुराम खतिवडाको गाला र टाउकोमा मुक्का प्रहार गरेकाे आराेप छ । घटनापछि उनी फरार रहेका थिए ।
उक्त घटनामा सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी खोजतलास तथा अनुसन्धान भइरहेको अवस्थामा फरार प्रतिवादी गिरीलाई साउन १२ गते नीलकण्ठ नगरपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका गिरीलाई जिल्ला प्रशासन कार्यालय धादिङबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
