
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित बेनी शिक्षा सदन आधारभूत विद्यालयका ६ जना विद्यार्थी बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs–2083’ प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भएका छन् ।
कस्मोस एजुकेशनल ट्रेनिङ एन्ड रिसर्च सेन्टर प्रा.लि., काठमाडौंको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको प्रारम्भिक चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयका ६ विद्यार्थी फाइनल राउन्डमा प्रवेश गर्न सफल भएका हुन् ।
अन्तिम चरणका लागि छनोट हुने विद्यार्थीहरूमा निओन पोख्रेल (UKG), मालश्री श्रेष्ठ (कक्षा १), बारिस कडेल (कक्षा ४), जस्मिन श्रेष्ठ (कक्षा ६), विभान श्रेष्ठ (कक्षा ७) र विमिसा श्रेष्ठ (कक्षा ८) रहेका छन् ।
विद्यालयले विद्यार्थीहरूको उपलब्धिप्रति खुसी व्यक्त गर्दै आगामी अन्तिम चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै विद्यालय, अभिभावक तथा धादिङ जिल्लाकै गौरव बढाउने विश्वास व्यक्त गरेको छ ।
प्रतियोगिताले बालबालिकाको सिर्जनात्मक क्षमता, चित्रकलाप्रतिको रुचि र आत्मविश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।
प्रतियोगिताको उद्देश्य
आयोजकका अनुसार ‘Colouring & Drawing Champs–2083’ को मुख्य उद्देश्य बालबालिकामा चित्रकला तथा सिर्जनशीलताप्रतिको रुचि विकास गर्नु, उनीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्नु तथा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रिय स्तरसम्म अवसर सिर्जना गर्नु हो ।
प्रतियोगितामा LKG, UKG तथा कक्षा १ देखि ८ सम्मका विद्यार्थी सहभागी छन् । प्रारम्भिक चरणबाट छनोट भएका विद्यार्थीले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने तथा उत्कृष्ट विद्यार्थीहरूलाई मेडल, ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
पुरस्कार विवरण
प्रतियोगिताका विजेतालाई निम्नानुसार पुरस्कार प्रदान गरिनेछः
- प्रथम पुरस्कार: रु. १५,५००, मेडल, ट्रफी र प्रमाणपत्र (१० जना)
- द्वितीय पुरस्कार: रु. ११,५००, मेडल, ट्रफी र प्रमाणपत्र (१० जना)
- तृतीय पुरस्कार: रु. ६,५००, मेडल, ट्रफी र प्रमाणपत्र (१० जना)
- सान्त्वना पुरस्कार: रु. ३,५००, मेडल, ट्रफी र प्रमाणपत्र (१० जना)
- Best Award: रु. १,०००, मेडल, ट्रफी र प्रमाणपत्र (१५ जना)
- स्मार्ट टिभी पुरस्कार: सहभागी विद्यालयमध्ये एक विद्यालयलाई स्मार्ट टिभी प्रदान गरिने ।
