धादिङका राजेन्द्र रिजाल एक अर्ब ८९ करोडभन्दा बढीको हुण्डी कारोबार अभियोगमा पक्राउ

Avatar photo
Dhadingpost
साउन १३, २०८३

काठमाडौं । धादिङ जिल्लाको साविक सत्यदेवी स्थायी घर भई हाल काठमाडौं महानगर नजिक नागार्जुन नगरपालिका–८ बनस्थली बस्दै आएका ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बनस्थलीबाट उनलाई पक्राउ गरेको जनाएको छ ।

सीआईबीका अनुसार प्राप्त गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबारको विश्लेषण गर्ने क्रममा रिजालले अन्य व्यक्तिहरूसँग मिलेमतो गरी व्यक्तिगत बैंक खाताहरू प्रयोग गरेर हुण्डी (अनधिकृत वित्तीय कारोबार) सञ्चालन गरेको खुलेको हो ।

अनुसन्धानका क्रममा रिजालले १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४ सय ५४ रुपैयाँ बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको देखिएको सीआईबीले जनाएको छ ।

प्रहरीले उनीमाथि हुण्डी कारोबार तथा विदेशी विनिमय (रेमिट्यान्स) सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान अघि बढाएको जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।

नेपालमा राष्ट्र बैंकको अनुमति बिना गरिने हुण्डी कारोबार गैरकानुनी मानिन्छ । यस्तो कारोबारले राज्यको राजस्व, बैंकिङ प्रणाली तथा वैदेशिक मुद्रा व्यवस्थापनमा प्रतिकूल असर पार्ने भएकाले प्रहरीले पछिल्लो समय यसविरुद्ध निगरानी र कारबाहीलाई तीव्र बनाएको छ । साङ्केतिक तस्वीर एआई