
काठमाडौं । हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा बाक्लो हिमपात सँगै परेको पानीले आज देशभरको जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज पश्चिमी भागमा बढी वर्षा भएको छ ।
धादिङ, गोरखा, कास्की, लमजुङ, लगायतका क्षेत्रमा मध्यम स्तरको वर्षा भइरहेको र तराईका केही भूभागहरूमा सामान्य वर्षा भइरहेको मौसमविद् सविना शाक्यले बताईन् । उनका अनुसार अनुसार गत २४ घण्टामा सबैभन्दा बढी गोरखा आसपास ४० मिलिमिटर पानी परेको छ । कास्की आसपासमा १४ मिलिमिटर वर्षा भएको छ ।
यस्तै लमजुङमा ३९ दशमलव ८ मिलिमिटर पानी परेको छ भने चितवनमा ४० मिलिमिटर वर्षा भएको छ । मनाङमा २७ दशमलव ५ मिलिमिटर र काठमाडौँमा १० दशमलव ७ मिलिमिटर पानी परेको छ । सुदूरपश्चिमका जिल्लाहरूमा १० मिलिमिटर हाराहारी वर्षा भएको शाक्यले बताइन् । मौसम पूर्वानुमान शाखाका अनुसार आज रातिपनि देशभर आंशिक देखी सामान्य बदली रहने, प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
मौसमविद् शाक्यका अनुसार भोलि बिहीबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहे पनि देशका अन्य भूभागमा आंशिक बदली रहने, केही स्थानहरूमा हल्का वर्षा हुने पूर्वानुमान रहेको र मौसममा क्रमिक सुधार आउने शाक्यले बताइन् ।
उनले भनिन्–‘बिहीबार राति पनि देशका पहाडी भागमा आंशिक बदली र बाँकी भागमा मौसम सफा रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक वा दुई स्थानहरूमा हिमपातको पनि सम्भावना रहेको छ तर भोलिदेखि मौसममा क्रमिक सुधार आउनेछ ।’ हिउँदमा भएको वर्षाबाट खास गरी गहुँ, जौ लगायत तरकारी खेती गरेका कृषकहरूलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
