
काठमाडौ । ओछ्यानमा पिसाब गर्ने गरेको र त्यसलाई रोक्न भन्दै ६ वर्षीय बालकको लिंगमा रबरले बाँधेर सजाय दिने पोखरा महानगरपालिका–१५ स्थित न्यू लाइफ होस्टेलकी २७ वर्षीया वार्डेन जानुका नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लामो समयसम्म यौनांग बाँधिएको रबरले असह्य भएपछि बालक चर्को स्वरमा रोएका थिए । लिंग रबरले बाँधिएको खुल्न आएपछि बालकलाई उपचारका लागि अस्पताल पठाइएको थियो । प्रहरीका अनुसार डोल्पाबाट पोखरा पढ्न आएका ती बालकका बुवा बितिसकेका छन् भने आमा गाउँमा खेती किसान गर्छिन् । परिवार गरिब भएकै कारण बालकालाई पढाउन होस्टेलमा राखिएको प्रहरीले जनाएको छ ।
बालकलाई यातना दिने नेपालीविरुद्ध बालबालिकाविरुद्धको कसुर मुद्दा चलाइएको छ । उनलाई जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ ।हिमालयन गुडलाइफ, काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलले अभिभावकविहीन बालबालिकालाई पढाउँदै आएको छ । हाल होस्टलमा ९ जनाले आश्रय लिइरहेको बताइएको छ ।
घटना घटेपछि घटना बाहिरिन नदिन होस्टल कर्मचारी र स्कुलबीच गोप्य सम्झौता भएको थियो । तर, घटना गोप्य रहन सकेन । घटना बाहिरिएपछि वार्डेन नेपालीलाई पक्राउ गरिएको थियो । हिमालयन गुड लाइफ काठमाडौंद्वारा सञ्चालित उक्त होस्टेल पोखरामा दर्ता नभएको पाइएको छ । यस विषयमा जिल्ला प्रशासनले छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउने बताइएको छ ।

