
दुबई । यूएईमा चलिरहेको ‘दुबई एक्सपो–२०२०’ मा नेपालले आफ्नो मौलिक संस्कृति झल्काएको छ । शुक्रबार ‘दुबई एक्सपो’को नेपाल पेविलियन (स्टल परिसर) मा नेपाली मौलिक संस्कृति झल्किने कार्यक्रम देखाएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ यूएईको अगुवाइमा किरात राई यायोक्खा समूहले आफ्नो पहिचान झल्काउने भेषभुषा र बाजागाजाकासाथ मौलिक झाँकी प्रस्तुत गरेको हो । झाँकी लोभ लाग्दो बनेको थियो। मौलिक संस्कृति झल्किने भेषभुषासहितको झाँकीहरुको प्रदर्शनीले कार्यक्रम स्थल नेपालमय बनेको थियो।
नेपाली टोलीले प्रर्दशन गरेको झाँकीले ‘दुबई एक्सपो’मा आएका सयौँ विदेशी पयर्टकको ध्यान खिचेको थियो । नेपाली प्रस्तुतीलाई अन्तर्राष्ट्रिय मिडियाहरुले पनि बिशेष प्राथमिकता दिएर झाँकीको फोटो तथा भिडियो कैद गरेका थिए ।
आदिवासी जनजाति महासंघ यूएईका अनुसार अब प्रत्येक शुक्रबार जनजाति महासंघमा आवद्ध संघ–संस्थाले आ–आफ्नो संस्कृति प्रस्तुत गर्नेछन् । दुबई एक्सपो’ मा नेपाली टोलीको नेतृत्व इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइजी)ले गरिरहेको छ। ‘दुबई एक्सपो’ का लागि नेपाललाई २१३ वर्ग फिटको ठाउँ छुट्टयाइएको छ।
‘दुबई एक्स्पो’को लागि २ हजार वर्ग मिटरमा काष्ठमण्डप बनाउन नेपाललाई यूएई सरकारले अस्ट्रेलिया पेविलियनसँगै जमिन दिएको थियो । यूएईको लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले भुमिपुजन पनि गरिसकेका थिए । तर, कोरोना महामारीका कारण काष्ठमण्डप यूएई ल्याउन सम्भव नभएको जनाईएको छ । काष्टमाण्डप यूएई ल्याउन नसकिए पनि विश्व समुदायमाझ नेपाललाई चिनाउन २१३ वर्ग मिटरकै पेविलियन भए पनि प्रयोग गरेर नेपाली मौलिकतालाई प्राथामिकचाका साथ प्रस्तुत गरिएको छ । दुबई एक्सपो १ अक्टोबर २०२१ बाट सुरु भएर ३१ मार्च २०२२ सम्म चल्नेछ ।
