
काठमाडौं साउन २७ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भए सँगै कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएको ११ महिनापछि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका हुन् ।
सोमबारको बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई नियुक्ती गरेको निर्णयको व्यहोरा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार साँझ ऊर्जा मन्त्रालयमा पुगेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्ताव मन्त्रीपरिषद्ले पास गरेपछि घिसिङ कार्यकारी अधिकृतमा नियुक्त भए सँगै आजै घिसिङले पदभार ग्रहण गरेका हुन् ।
मन्त्री भुसालको प्रस्तावमा नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्मानजनक ढंगले जल तथा ऊर्जा आयोगमा पठाइएको छ । शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाइपाइ आएको तलब सुविधा उपलब्ध गराउने सर्तमा आयोगमा पठाईएको हो ।
कार्यकारी प्रमुख शाक्यले मंगलबार प्राधिकरणमा पुगेर विभागीय प्रमुखलगायतसँग भेटघाट गरी बिदा लिईसकेका छन् । प्राधिकरणको नेतृत्वमा रहेका बेला लोडसेडिङ अन्त्य गरेसँगै चर्चामा आएका घिसिङलाई कार्यकारी निर्देशक पदमा दोहो¥याउनुपर्ने चर्को दबाबबीच पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई दोहो¥याएको थिएन । तस्वीरः प्रदिपराज वन्त
