
काठमाडौं साउन १७ । नेकपा (माओवादी केन्द्र) ले यही साउन ३० गतेसम्म देशभर सबै वडासमिति गठन गरि सक्ने जनाएको छ
पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन सबै वडासमिति गठन, पुनःगठन गरी यथार्थ विवरण तयार पार्न निर्देशन दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आईतबार बसेको स्थायी समितिको बैठकले यही साउन ३० गते बस्ने केन्द्रीय समितिको बैठकमा सो विवरणसहित आउन निर्देश गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसअघि यही साउन २० गतेका लागि तय भएको केन्द्रीय समितिको बैठक थप तयारी गर्नुपर्ने भन्दै १० दिन पर सारिएको छ ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सरकार गठनका बिषयमा छलफल गर्न भोलि फेरि ३ बजे स्थायी कमिटी बैठक बस्छ। अध्यक्ष प्रचण्डले गठबन्धनसँग फेरि छलफल गर्नुहुन्छ। अब सरकारलाई पूर्णता दिनमा ढिलाइ हुँदैन ।’
पार्टीबाट पठाउने मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई नदिएकै कारणले भोलिको लागि स्थायी कमिटी बैठक बस्ने उनको भनाइ छ । उनले जसपा र एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको निर्णयपछि सरकार गठनले पूर्णता पाउने बताए ।
प्रवक्ता श्रेष्ठले भने, ‘जनता समाजवादी पार्टी र गठबन्धनमा सामेल हुनसक्ने सबै पार्टीको कारणले ढिलाई भएको हो । जसपाले वैधानिकताबारे मुद्दा परेकाले सरकार गठन रोक्न माग गरेको थियो । यसैलाई ध्यान दिएर ढिलाई गरेको हौँ। अब ढिलाइ गर्न हुन्न भन्नेमा गठबन्धन पुगेको छ, अब एकदुई दिनमै सरकारलाई पूर्णता दिन्छौँ ।’ नेपाल पक्षले पनि अब सरकारमा जाने नजाने भन्ने कुराको निर्णय दिन ढिला गर्न नहुने उनले बताए ।
यस्तै, दार्चुलामा भारतीय एसएसबीले तुइन काटेको कारण एक युवा बेपत्ता भएकोप्रति गम्भीर ध्यानकर्षण भएको माओवादीले जनाएको छ ।
