मेसी र रोनाल्डो एकै समूहमा

Avatar photo
Dhadingpost
अशोज १७, २०७७

काठमाडौं असोज १७ । युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको ड्र बिहीबार निस्किएको छ । वन्द रंगशालामा हुने च्याम्पियन्स लिगको समूह चरणको प्रतिस्पर्धामा यसपटक रोमाञ्चकताले भरिनेछ । वर्तमान समयकै उत्कृष्ट खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीले पहिलोपटक समूह चरणमै प्रतिस्पर्धा गर्नेछन् । समूह जीमा बार्सिलोना र युभेन्ट्स परेका छन् । यस समूहमा डिनाभो किभ र फेरेन्सभारोस पनि छन् । योपटक वरीयतामा बार्सिलोना दोस्रो स्थानमा रह्यो । यसैकारण बार्सिलोनाले ड्रमा पोल पोसेसन पाउन सकेन ।

सन् २०१५ पछि बार्सिलोनाले च्याम्पियन्स लिग उपाधि जितेको छैन । रोनाल्डो युभेन्ट्स गएयता च्याम्पियन्स लिग ट्रफी उपाधिविहीन छन् । यसअघि उनी रियल म्याड्रिडमा रहँदा चारपटक उपाधि जितेका थिए । रियलले लगातार तीनपटक च्याम्पियन्स लिग जित्दा समयमा रोनाल्डो नै नायक बनेका थिए । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यानसँग सम्बन्ध त्यति सुमुधुर नभए पनि मेसी उपाधि जित्न लालायित छन् ।

च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने सूचीमा रोनाल्डो र मेसी नै क्रमशः छन् । रोनाल्डोले फरक तीन क्लबबाट प्रतिस्पर्धा गर्दै सर्वाधिक १ सय ३० गोल गरेका छन् । रोनाल्डोले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्ट्सबाट प्रतिनिधित्व गर्दै च्याम्पियन्स लिग खेलेका छन् । मेसी केवल बार्सिलोनाबाट खेल्दै १ सय १५ गोलका साथ दोस्रो स्थानमा छन् ।

युभेन्ट्सले इतिहासमा दुईपटक मात्र उपाधि उचालेको छ । सन् १९९६ मा युभेन्ट्सले अन्तिमपटक उपाधि चुमेको थियो । त्यसयता युभेन्ट्सले उपाधि जित्न सकेको छैन । २०१५ र २०१७ को संस्करणमा युभेन्ट्स उपविजेतामा सीमित भएको थियो । समूह जीपछिको प्रतिस्पर्धात्मक समूह एच हो । साविक उपविजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर युनाइटेड यसै समूह छ । यी दुवै क्लबमा स्टार खेलाडीको कुनै कमी छैन । गत सिजनमा पिएसजी उपविजेता बन्दा नेमार जुनियर, कलियन एम्बाप्पे र एन्जेल डी मारियाले उत्कृष्ट खेल देखाए ।

प्रशिक्षक ओले सोल्सायरले आफ्ना फिट रहेका खेलाडीकै बलमा समूह पार लगाउने हिम्मत कसेका छन् । यसो त यस समूहमा जर्मन क्लब आरबी लेजिप र टर्कीको इस्तानाबुललाई पनि कम आँक्न मिल्दैन । पछिल्लो समय जर्मन क्लब युरोपियन फुटबलमा शक्तिशाली बनिरहेको छ । साबिक विजेता बायर्न म्युनिखले स्पेनिस शक्तिशाली क्लब एटलेटिको म्याड्रिडको सामना गर्नेछ । एटलेटिको म्याड्रिडले च्याम्पियन्स लिगमा अप्रत्यासित नतिजा निकाल्न माहिर छ ।

योपटक लुइस सुआरेजको आबद्धताले पनि एटलेटिको म्याड्रिड थप सशक्त बनेको छ । सर्वाधिक १३ पटकको च्याम्पियन रियल म्याड्रिडले पनि कठिन प्रतिद्वन्द्वी नै पाएको छ । समूह बिमा रियलले सिरिए क्लब इन्टर मिलान, साख्तर डोनेटस तथा जर्मन क्लब बोरुसिया मोन्चेग्लावाचविरुद्ध खेल्नुपर्नेछ । प्रशिक्षक जिनेदिन जिदान च्याम्पियन्स लिगमा फरक रणनीतिका साथ खेलाडीलाई प्रतिस्पर्धा गराउँछन् । २०१८ पछि च्याम्पियन्स लिग उपधिविहीन रियल योपटक पुनःपुरानौ राख रक्षा गर्ने तत्पर देखिन्छ । यसैगरी समूह सीमा म्यानचेस्टर सिटीले एफसी पोर्टोको सामना गर्नेछ ।

गत सिजन आश्चर्यजनक रूपमा नकआउट चरणबाट बाहिरिएको लिभरपुलले एज्याक्सको सामना गर्ने । प्रशिक्षक जर्गेन क्लोपले यसपटक तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी पाएको महसुस गरेका छन् । इंग्लिस क्लब चेल्सीले समूह ईमा स्पेनिस क्लब सेभिल्लाको सामना गर्नेछ । योपटक ड्र निकालिँदा युइएफएको वरीयताका आधारमा पोल दिइको थियो । पहिलो समूहमा बायर्न, सेभिल्ला, रियल म्याड्रिड, लिभरपुल, युभेन्ट्स, पिएसजी र पोर्टो रह्यो । गत सिजन च्याम्पियन्स लिग तथा युरोपा लिग तथा विभिन्न प्रिमियर लिगको विजेताअनुसार एक–एक समूहमा राखिएको थियो । योपटक बार्सिलोना दोस्रो समूह परेको थियो । गत वर्ष बार्सिलोना उपाधिविहीन बन्यो, नयाँपत्रिकामा खवर प्रकाशित छ ।

x