
धादिङ । नीलकण्ठ नगरपालिका–स्थित ज्यामरुङका मुई थाई खेलाडी ज्ञानेश्वर धमला ‘शंकर’ नेपाल तरुण दल धादिङको अध्यक्षमा मनोनीत भएका छन् ।
खेलकुद क्षेत्रबाट परिचित धमलालाई नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको धादिङ जिल्ला अध्यक्षमा केन्द्रीय समितिले मनोनीत गरेको हो ।
तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालाद्वारा जारी पत्रअनुसार धमलालाई संगठनको सिद्धान्त, आदर्श, विधान तथा केन्द्रको नीतिनिर्देशनबमोजिम संगठनलाई सुदृढ र गतिशील बनाउन अध्यक्षको जिम्मेवारी दिइएको छ ।
धादिङको ज्यामरुङ निवासी धमला मुई थाई खेलमा अन्तर्राष्ट्रियस्तरमा समेत उल्लेख्य सफलता हासिल गरेका खेलाडी हुन् । खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका धमला पछिल्लो समय राजनीतिमा पनि सक्रिय देखिएका छन् ।
नवनियुक्त अध्यक्ष धमलालाई २०८३ साल कात्तिक मसान्तभित्र नेपाल तरुण दल धादिङको जिल्ला अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी समेत तोकिएको छ ।
अध्यक्षको जिम्मेवारी पाएसँगै धमलासामु तरुण दलको जिल्ला संगठनलाई थप सक्रिय बनाउँदै निर्धारित समयभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी आएको छ ।
