
धादिङ असार २३ । धादिङको विद्यालय स्तरको छात्रा भलिबलको लागि राम्रो मानिएको नीलकण्ठ नगरपालिका स्थित ग्रामिण क्षेत्र खाल्टेको कालिका आधारभुत विद्यालयका विद्यार्थीहरु फेरि खेलमा फर्किएका छन् ।
कोरोना भाईरस संक्रमणको जोखिम बढे सँगै रोखिएको खेलकुद धादिङमा विस्तारै सुरु हुन थालेको छ । धादिङ जिल्लामा विद्यालय तह, त्यसमा पनि कक्षा ८ सम्म मात्र पढाई हुने कालिका आधारभुत विद्यालय छात्रा भलिबलमा उत्कृष्ट खेलाडी भएको विद्यालयका रुपमा चिनिन्छ ।
कक्षा ९ र १० मा अध्ययनरत छात्राहरुको टिमलाई समेत पछाडी पार्दै आएको यस आविका विद्यार्थीहरुले आईतबार गुरु पूर्णिमाको दिन लकडाउन सुरुभएपछि पहिलो पटक भलिबल खेले ।
विद्यालयकै खेल मैदानमा छात्रा र छात्रहरु दुबै टिमले गुरुपूर्णिमाको दिन देखि भलिबल खेललाई निरन्तरता दिएको विद्यालयका शिक्षक सन्दिप थापामगरले धादिङपोष्टलाई बताए ।
कलिला हातहरु, लोभ लाग्दो भलिबल खेल कालिका आविको विशेषता बन्दै गएको परिस्थितिमा यो लोकप्रियतालाई बचाई राख्न र खेलाडीको रुचीलाई सम्मान गर्दै कोरोना भाईरस रोकथामका आधारभुत सुत्रहरुलाई अवलम्बन गरि भलिबल सुरु गरिएको शिक्षक थापा मगरले बताए ।
त्यसो त धादिङमा छात्रा भलिबलको राम्रो सुरुवात सबै भन्दा पहिले धादिङबेसी स्थित एड्भान्स एकेडेमीले सुरु गरेको हो । विद्यालयको स्थापना काल देखिनै छात्र र छात्रा भलिबललाई प्रथामिकता दिएको एड्भान्सले जिल्ला स्तरगत रुपमा भएको माद्यामिक विद्यालय स्तरीय कयौ प्रतियोगिताहरु जिति सकेको विद्यालयका संचालक अर्जुन गोरर्खाली बताउँछन् ।
हाम्रा छात्राहरु पनि राम्रा छन्, त्यसमा पनि कालिका आधारभुत विद्यालय भएर पनि अकृति बराम, कृषला बराम, रोजिना बराम, सुनिता बराम र सरिना श्रेष्ठको खेल लोभ लाग्दो भएको पूर्व जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष समेत रहेका गोर्खाली बताउँछन् ।
धादिङमा खनियाँबास गाउँपालिकाले वडा स्तरीय फुटबल प्रतियोगिताको फाईनल खेल गराए सँगै जिल्ला भरका खेलाडीहरु पुन: खेलमा फर्कन थालेका हुन् ।
