कोरोना विरुद्ध मुख्य सर्त सामाजिक दुरी

Avatar photo
गोविन्द बुढाथोकी
जेष्ठ १२, २०७७

शब्दले शुन्यतामा विश्व लगेको समय छ, शक्तिशाली र विकसित भनिएका देशहरु अनि तिनले दिएका नागरिकहरुका सेवा तथा सुविधाहरुका साथै नागरिकहरुमा बलवान र धनीमानीहरुको हैसियत सबै प्रायः स्तब्ध र स्थिर छ ।

कारोना भाईरस (कोभिड-१९) को महामारीले पृथ्वीको कम्पनमा कम भएको र जलवायु परिवर्तन तथा प्रदुषणको मात्रा कम भएको विश्वभर अनुसन्धान भएका छन् । चर्चाले नेपालको लकडाउन र कोरोना प्रभाव कम भएकोमा विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरु खुसी छन् ।

सामाजिक सञ्चार र आम सञ्चार माध्यमले दिएको सूचना र समाचारका आधारमा कारोनाका सङ्कुचन र सामाजिक नियमहरुका विषय गहिरो पनि छ । नेताहरुका विचार तथा मन्त्रीहरुले दिने प्रतिक्रियाहरु हेर्दा छोटो समयमा नेपालमा अर्थमन्त्रीज्यूले दिनुभएको प्रतिक्रिया समेतले अर्थब्यवस्था नाजुक हुने देखिन्छ ।

राहतका विषयमा स्थानीय सरकारले गरेका कामहरु जति आम सञ्चार बजारमा आए अब्बल दुर्बल नभनिकन स्वागत योग्य र सह्रानीय छ । यतिबेला राज्यले आफ्ना नागरिकहरुलाई दिने सुविधा अझ भनम् राहत के हुने भन्ने विषय भन्दा अघि कर बढी तिर्नुहोस् भन्ने शैलीले हाम्रो भविष्य प्रष्ट पार्छ तथापी यो विषयमा सरकारले व्यवसायमा पर्न गएको असर न्यूनीकरणमा के कस्तो सुविधा वा राहत गर्न सकिएला ?

सामान्य जीवन यापन गर्ने नागरिकलाई कस्तो सुविधा दिन सकिएला ? जनजीवन कसरी सहज र सजग गर्ने भन्ने विषयमा किन तयारी छैन ? कोरोना बिरुद्धको विश्वभरीको प्रयोग र सफलतालाई अबलम्बन गर्न पाएको नेपालले दीर्घकालिन तयारी, सफल र सहज जीवन यापनका विषयमा तयारी गर्न जरुरी छ ।

यस्तो समयमा तपाईं हामीले पनि अरुले लकडाउन गरे भने घर बस्ने र खुल्यो भन्ने बित्तिकै कुनै मेला पर्व लागे जस्तो बाहिर निस्कन पनि भएन । सामान्यतया युरोपले यो महामरीका बेला माथी उल्लीखित बिषयहरुमा विशेष संयमता अपनायो । सजगताका नियमहरु बनायो ।

उत्पादनलाई रोकेन, मतलब युरोजोनमा विभिन्न देशहरुले आफ्नो देशको हावापानी अनुसार बाली उत्पादन जिम्मेवारीमा जसले जे उत्पादन गरिरहेको छ, त्यसलाइ सहज गर्न काममा आउने कामदारहरुलाई कार्यसम्पादन समयमा २ मिटरको सामाजिक दुरी कायम गर्यो ।

कामदारहरु बोक्ने गाडीहरु अन्यक्षेत्रमा प्रयोग गर्न बन्देज गर्यो अनि ४८ सिट क्षमताको गाडीमा १६ जना अर्थात गाडी भित्र पनि सिमा बन्देज गरि यात्रु तथा कामदारहरुलाई सधैँ एउटै सिटमा बस्न अनुरोध गर्यो साथै आफ्नो सुरक्षाका साधनहरु स्यानीटाइजर, मास्क र पञ्जा अनिवार्य गर्यो । सार्वजनिक शौचालयहरुमा पनि साबुन तथा स्यानीटाइजर अनिवार्य गर्यो र सरकारी निकायले अनिवार्य अनुगमन गर्ने चक्र बनायो ।

फलस्वरुप उत्पादन नियमित र सुरक्षित भयो । यसो हुँदा कामदार काममा पनि गए उत्पादन पनि रोकिएन कृषि उत्पादन तथा अन्य उत्पादन र भण्डारणको काम सहजताका साथ चलिरह्यो । यति हुँदै रहँदा पनि बैँकले निश्चित प्रतिशत ब्याज सहजताको विषय र क्षेत्र तोक्यो । चाँडै उत्पादन हुने र भण्डारण गर्न नमिल्ने प्रकृतिका उत्पादनहरुको हकमा धेरै सम्वेदनशीलता अपानाएको देखिन्छ ।

नागरिक र गैह्र नागरिकहरुका विषयमा जो जहाँ जसरी रहेपनि सरकारले तोकेका विषयमा कर तथा सेवा शुल्क न्युनीकरण र सहजता प्रदान गर्दै दुवै नागरिकका लागी सरकारले निशुल्क स्वास्थ्य सेवा दिने घोषणा गरि कार्यान्वयन गर्यो ।

उल्लिखित विशेष परिवेशमा पूर्ववत नियमानुसार सबैले शुल्क तिर्नु पर्ने साथै स्वास्थ्य सेवा सुविधा आधार कार्ड नपाएकाले ५ गुणा सम्म बढी तिर्नु पर्ने व्यवस्था थियो, जुन सहज भयो । नागरिकहरु सामाजिक दुरी कायम गरि बजार वा सार्वजनिक स्थलमा जान्छन् । सामानहरु खरिद गर्छन् । बजारहरु बन्द भएनन् । २ मिटर वरिपरि कसैसँग उभिन वा बोल्न नपाइने कुराको रेखदेख गरियो ।

साना बालबालिकाहरुलाई बजार तथा सार्वजनिक स्थलहरुमा नलग्न अनुरोध गरियो । श्रीमान श्रीमती नै भएपनि सँगै बजारमा उभिन वा कुराकानी गर्न दिइएन र गर्दैनन् पनि ।

प्रायः व्यस्त रहने रेष्टुराँहरु पनि सामान्यतया दुरी कायम गरी सञ्चालनमा आएका छन् । सँधै एकनासको घर बसाईले नागरिकहरुमा मानसिक समस्या हुन सक्ने विज्ञहरुको चेतावनीलाई मध्य नजरगरी बगैँचा तथा पार्कस्थलहरु खुल्ला गरिएको छ र सचेतनाका बाल पोष्टरहरु पनि टाँसिएका छन् ।

यद्यपि २ जना एकैठाउँमा उभिएको वा बसेको देखे सबैले सचेत गराउने वा सार्वजनिक रुपमै गाली सम्म गर्ने अनि हेयभावले हेर्ने गरेको देखियो । नागरिकले प्रयोग गर्ने सुपरमार्केटहरुमा भित्र रहन सक्ने मान्छेको कोटा तोकी टोकन सिष्टम लागू गरिएको छ, अनि पालैपालो टोकनका आधारमा सामान किन्न पाइन्छ । सामानहरुमा जथाभावी छुन वा रोज्दै छोड्दै गर्न दिइन्न ।

घरका मानिसहरु पालैपालो बाहिर निस्कन्छन्, तर सामाजिक दूरी तथा नियमहरुको पूर्णतया पालना गरेका हुन्छन् । धेरै टाढा जाँदैनन् । नजिकमा सबै कुराहरु सहज छन् । थोक व्यापारीहरु सामान ढुवानी गरिदिन्छन् । अनि खुद्रा पसलहरुमा एकपटकमा एक जनाले किन्न पाउँछन् । पञ्जा सबैलाई अनिवार्य छ, पैसाका सुरक्षित तरिकाहरु छन् । कार्डवाट लिने काउन्टरमा र्यापिड स्यानिटाइजिङ गर्ने एकले अर्कालाई नछुने जस्ता नियमहरु पनि छन् ।

एक प्रकारको छुवाछुत जस्तो देखिने बजारका व्यवहारहरु कतिपय बेला अचम्म लाग्ने अनि छिन भरमै सन्त्रासमय बन्छन् । युरोपमा यो सहजता र संयमता सबै नागरिक सचेतनाले सहज भएको हो ।

कोरोना महामारीले थलिएको युरोप विस्तार सहज र सर्वसुलभ भएको छ, कोही कसैसँग नजिक हुन्नन् । किनमेल जाँदा वा फर्किँदा, काममा जाँदा फर्किँदा वा जे कार्य सम्पादन गरिसकेपछि पटक पटक स्यानीटाइजर गर्छन् । कसैले गल्तिगरे औंल्याउँ छन् ।

लक डाउनका नाममा सामान्य उठबस समेत नहुनेगरी घरभित्र मात्रै नागरिकहरुलाई कष्टकर जिवनयापनमा जबर जस्ती लाद्नु हुन्न अर्कातिर नागरिकहरुले पनि अत्यावश्यक बाहेक खुल्ला र असुरक्षित हिँडडुल गर्न हुँदैन ।

सरकारका तिनै तहबाट व्यवसाय र व्यवसायीहरुको साथै नागरिकहरुलाई दिइने सुविधाहरु र सुलभ जीवन ब्यवहारका नियमहरु तय गरि कार्यन्यन गर्नुपर्छ । यस्तो बेला स्वैक्षिक जाँचका शुल्क तोकेर बस्नु जथाभावी बजार र तीनका अवयावहरुमा कटाक्ष प्रहार गर्नु सरकारी अधिकारीहरुको कमजोरी हो ।

लामो समयसम्म लकडाउनले सरकारी अधिकारीहरुकने मात्र हैन सामान्य नागरिकहरुको पनि मानसपटलमा गहिरो असर पुग्ने अध्ययनले देखाएको चर्चा संसारभर चल्न थालेको छ। लकडाउन आफैँमा समस्या हो ।

यो समस्याको समाधान खोज्न नागरिक अगुवाहरु, सरकार, सुरक्षा निकाय र नागरिकहरु सम्वेदनशील भई सामाजिक दुरी कायमको अठोट र सामाजिक नियमको पूर्णतया पालना गरि उत्पादन–उद्योग र कलकारखानाहरुलाई सञ्चालनमा राख्दै सुलभ र सुरक्षित बजार प्रबन्ध गरि नागरिकहरुलाई अकर्मण्यता र मेन्टल प्रेसरबाट बाहिर ल्याउनु आजको अपिहार्य आवश्यकता हो ।

विश्वभर सहजता र सुरक्षित व्यवहार नागरिकहरुको सकृयता र सजगताले मात्र सम्भव भएको छ । सबैले आ-आफ्नो ठाउँबाट अठोट गर्नुपर्छ । कोरोना बिरुद्ध एकजुट हुनुपर्छ । तर लकडाउनको नाममा मन मस्तिष्क समेत स्थीर गरी बस्न हुन्न ।