सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको कोरोनाबाट मृत्यु

Avatar photo
Dhadingpost
जेष्ठ ४, २०७७

काठमाडौं जेष्ठ ४ । नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको बिहीबार काभ्रेस्थित धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । कोरोनाकै कारण मृत्यु भएको हो वा अन्य समस्या पनि थियो भनेर अध्ययन गरिसकेपछि स्वास्थ्य मन्त्रालयले शनिबार त्यसको पुष्टि गरेको छ ।

नेपालमा संक्रमण भित्रिएको झन्डै चार महिनापछि कोरोना भाइरसबाट पहिलो मृत्यु भएको हो । चीनको वुहानबाट फर्किएका जनकपुरका एक युवामा ९ माघमा पहिलो संक्रमण देखिएको थियो । दुई हप्ता उपचार गरेपछि उनी निको भएर घर फर्किएका थिए । शनिबारसम्म देशभर संक्रमितको संख्या दुई सय ८१ पुगेको छ ।

मृतक महिलाले २४ वैशाखमा काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा नर्मल डेलिभरीमार्फत बच्चा जन्माएकी थिइन् । त्यसको एक दिनअघि उनी अस्पताल भर्ना भएकी थिइन् । २५ वैशाखमा डिस्चार्ज भए पनि दुई दिन काठमाडौंकै डेरामा बसेर उनी २८ वैशाखमा बाह्रबिसेस्थित घर फर्केकी थिइन् । तर, ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिन थालेपछि उनले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएको मन्त्रालयले जनाएको छ ।

कोरोनाको लक्षण देखिएको र समस्या बढ्दै गएपछि बिहीबार उनलाई शिक्षण अस्पताल रिफर गरिएको थियो । बीचबाटोमै उनलाई सास फेर्न गाह्रो हुन थालेपछि एम्बुलेन्स धुलिखेल अस्पताल लगिएको थियो । तर, बाटोमै उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

‘अस्पताल ल्याइपुर्‍याउँदा नै उहाँको मृत्यु भइसकेको थियो । स्वास्थ्यकर्मीले कृत्रिम श्वास दिएर कोसिस गर्नुभयो, तर केही सीप लागेन । श्वासप्रश्वासमा समस्या भएकाले हामीले तत्कालै स्वाब लियौँ । अस्पतालको ल्याबमा पिसिआर परीक्षण गर्दा उहाँको रिपोर्ट पोजेटिभ आयो,’ धुलिखेल अस्पतालका डिन डा। राजेन्द्र कोजूले भने ।

मृतकमा कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पतालले उनको नमुना केन्द्रीय प्रयोगशाला टेकुमा पनि पठाएको थियो । त्यहाँको रिपोर्ट पनि पोजेटिभ आएको थियो । संक्रमणबाट जोगिन अस्पतालले परिवारका सदस्यलाई मृतकको छेउमा जान दिएको छैन ।

शनिबारसम्म देशभर संक्रमितको संख्या दुई सय ८१ पुगेको छ । उनीहरूमध्ये ३६ जना निको भइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म २६ हजार ६ सय ९१ नमुना पिसिआर विधिबाट र ६५ हजार सात सय ४९ वटा आरडिटी प्रविधिबाट परीक्षण गरिएका छन् । देशभरका क्वारेन्टाइनमा १६ हजार तीन सय ६६ जना रहेका छन् ।

आफन्तले एक मिटर टाढाबाट मात्रै हेर्न पाउने, शवलाई छुन नपाउने

कोरोना संक्रमणबाट मृत्यु भएकालाई आफन्तले एक मिटर टाढाबाट मात्रै हेर्न पाउनेछन् । संक्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले शव व्यवस्थापनका लागि बनाएको निर्देशिकामा यस्तो व्यवस्था गरेको छ । शवलाई नछोईकन टाढैबाट कुलरधर्मअनुसार तिल, पानी छर्कने तथा फूल चढाउन भने पाइनेछ । त्यस्तै, ६० वर्षभन्दा माथिका र दीर्घरोगीलाई शवको नजिक जान रोक लगाइएको छ ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा पनि विशेष सावधानी अपनाउनुपर्नेछ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सचालक, परिवारका सदस्य र सद्गद्मा सहभागी हुने मृतकका आफन्तले पन्जा, चस्मा, टोपी, मास्कसहितको पिपिई अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिको सामान्यतः पोस्टमार्टम गर्नुपर्दैन । मृतकको फोक्सो तथा अन्य अंगमा जीवाणु जिउँदै हुन सक्ने भएकाले पोस्टमार्टम गर्नैपर्ने अवस्थामा विशेष होसियारी अपनाउन विज्ञहरूको सुझाब छ । शवलाई पर्याप्त भेन्टिलेसन भएको कोठामा राखी कम स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक सुरक्षा उपकरणको प्रयोग गरेर मात्रै पोस्टमार्टम गर्नुपर्नेछ । नयाँ पत्रिकामा खवर प्रकाशित छ ।