धादिङ गल्छीको कटुवा पौवा सिल गरियो

Avatar photo
Dhadingpost
जेष्ठ २, २०७७


धादिङ जेष्ठ २ । धादिङ गल्छी गाउँपालिका स्थित कटुवा पौवा वस्ती शुक्रबार देखि जेष्ठ ६ गते राती सम्मका लागि सिल गरिएको छ ।

गल्छी गाउँपालिका ८ कटुवाल पौवा गाउँकी ३० वार्षिय महिलालाई कोरोना भाईरस संक्रमण देखिए सँगै जिल्ला सुरक्षा समितिले जेष्ठ ६ गते सम्मका लागि सिल गरेको हो ।

गल्छी गाउँपालिका ८ को पूर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेना ६ नम्बर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी तथा दक्षिणमा पृथ्वीराजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडक सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार यी चारकिल्ला भित्र आगामी जेठ ६ गते राती १२ बजेसम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा २ बमोजिम निशेधाज्ञा जारी गर्दे शील गरिने छ ।

उल्लेखित चार किल्लाभित्र कसैलाई पनि बाहिर निस्कन र आवतजावत गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउनको लागि र माइकिङ गर्न सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई जिम्मा दिइएको छ । साथै नेपाली सेनाले पनि गाडीबाट गस्ती गर्ने निर्णय गरिएको छ ।

संक्रमित व्यक्तिसँग जोडिएका व्यक्तिलाई सम्पर्क गरी क्वारेन्टाइनमा राख्नका लागि गल्छी गाउँपालिकालाई निर्देशन दिइएको छ ।

संक्रमित व्यक्तिको अस्थायी बसोबास रहेको चन्द्रागिरि नगरपालिकाको अमरबस्ती (सतुङगत क्षेत्र) मा पनि सजगता अपनाउन नगरपालिकालाई जानकारी गराउने समेत निर्णय गरिएको छ ।

यस अघि धादिङ नेत्रावती डब्जोङ गाउँपालिकाका एक युवामा पनि कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको थियो ति युवा निको भएर घर फर्कि सकेका छन् ।