
काठमाडौं बैशाख २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बुधबार साँझ अकस्मात स्थगित भएको छ । कार्यकारी अध्यक्ष प्रचण्ड र आफूले प्रस्ताव तयार पार्न नभ्याएको र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली थाकेका कारण स्थायी कमिटीको बैठक सार्नुपरेको महासचिव विष्णू पौडेलको भनाइ छ ।
बुधबार बालुवाटारमा बस्ने सचिवालय बैठकले विहीबारको बैठकका लागि प्रस्ताव तय गर्ने भनिएको थियो । तर, बुधबार बसेको सचिवालय बैठकमा भाँडभैलो भएपछि प्रधानमन्त्री ओली उठेर शयन कक्षतिर लागे । सचिवालयले एजेण्डा नै तय गर्न सकेन । र, स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भयो ।
अब सचिवालय विघटन हुनुपर्छ -जनार्दन शर्मा
स्थायी कमिटीको बैठक माग गर्ने २० नेता मध्येका एक जनार्दन शर्माले नेकपाको सचिवालयमा स्वार्थहरुको गठजोड भएकाले अब सचिवालय विघटन हुनुपर्ने माग गरे । सचिवालय विघटन गरेर सबै अधिकार स्थायी कमिटीमा ल्याउन पहलसमेत थालिने बताए ।
‘यो सचिवालयले अब काम गर्न, निर्णय गर्न सक्दैन, यो असक्षम भइसक्यो । अब सबै निर्णय स्थायी समितिबाट हुनुपर्छ । सचिवालय विघटन हुनुपर्छ’ शर्माले भने, ‘यहाँ प्रहसन मात्रै गर्ने भए । कम्युनिस्ट पार्टीको सचिवालयमा प्रहसन भइरहेको छ, यो प्रहसन बन्द गर्नुपर्छ । अब स्थायी समितिबाटै सबै निर्णय गर्ने गरियो भने समस्या समाधान हुन्छ ।’
सचिवालयका नेताहरु स्वार्थको गठजोडमा मात्रै लागेको र जनताको समस्यामा ध्यान नदिएको शर्माको आरोप छ । उनी भन्छन्, ‘सचिवालयमा स्वार्थहरुको गठजोड छ । पार्टी, जनता र आन्दोलनप्रति चिन्ता गर्ने भन्दा पनि स्वार्थहरुको गठजोड भएको हुनाले कोही कहिले भाग्ने, कोही कहिले कता लाग्ने भइराखेको छ । यो प्रहसन अब सैह्य हुँदैन ।’
प्रचण्ड निकट नेता शर्माले अगाडि भने, ‘अब सचिवालय विघटन गरी स्थायी समितिमा सबै अधिकार राखेर स्थायी समितिले निर्णय गर्ने परिपाटी अब हामी मिलाउँछौं । हामी अब त्यसको पहल गर्छौं । अब जानैपर्ने त्यतै हो ।’
पर्सि बैठक बोलाइयोस् -रघुजी पन्त
नेकपा स्थायी कमिटीका अर्का सदस्य रघुजी पन्तले बैठकबाट भागेर समस्या समाधान नहुने बताउँदै भोलि बस्न नसके पर्सि बैठक राखिनुपर्ने बताए । ‘बैठक सारेर समस्याको समाधान हुँदैन । बैठकबाट भागेर समस्याबाट पार पाउन सकिँदैन । बैठक सार्दा समस्या सर्छ, समस्या टर्दैन । जति सार्दै गयो, त्यति समस्याहरु झन जटिल भएर प्रकट हुन सक्छन्’ पन्तले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी ओलीलाई मेरो हार्दिक आग्रह छ . छिटोभन्दा छिटो स्थायी कमिटीको बैठक बसौं । बैठकमा हार्दिकताका साथ र आत्मालोचक भएर समस्याको समाधान खोज्ने दिशामा प्रयत्नशील बनौं ।’
माधव नेपाल समूहका नेता पन्तले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै थपे, ‘यो पार्टी हामी सबैको हो । तपाईले कार्यकर्ताहरुको, स्थायी कमिटीका सदस्यहरुको र आफ्नो पार्टीका समर्थकहरुको गुनासो, चिन्ता र चासोलाई सुन्ने, बुझ्ने र तिनीहरुको समाधान खोज्ने हिम्मत देखाउनुपर्छ ।’
यो बैठक स्थायी कमिटीका २० जना सदस्यहरुले पार्टीभित्र उत्पन्न समस्याहरुलाई गम्भीरतालाई बुझेर ती समस्याको समाधान एकतावद्ध भएर ठीक ढंगले पहिल्याउन सकियोस् भन्ने उद्देश्यले माग गरिएको पन्तले बताए । उनले भने, ‘पार्टी र सरकारलाई प्रभावकारीरुपमा अगाडि बढाउन सकियोस्, गतिहीन भएको पार्टी र अलोकप्रिय हुँदै गएको सरकारलाई गतिशील र लोकप्रिय बनाउनका लागि उपायहरु खोज्न सकियोस् भनेर स्थायी कमिटीको बैठक माग गरिएको हो ।’
पन्तले थपे, ‘यथाशिघ्र बैठक राखिनुपर्छ । भोलि राख्न सकिँदैन भने पर्सि राखिनुपर्छ । बैठकलाई सारेर समस्या टर्दैन, सर्छ मात्र ।’
स्थायी कमिटीको बैठकबाट भाग्ने काम कुनै पनि नेताले गर्नु हुँदैन भन्दै पन्तले स्थायी कमिटीका सदस्यहरु आफ्नो ठाउँमा आफैं जिम्मेवार रहेको बताए । उनले भने,’कसरी पार्टी एकतालाई बलियो बनाउने, कसरी पार्टीलाई गतिशील बनाउने र सरकार के गर्दा प्रभावकारी हुन्छ भनेर यो बैठकको माग गरिएको हो । यो बैठक समस्याको समाधान खोज्ने दिशातर्फको पाइलो हो ।’
तर, महासचिव र कार्यकारी अध्यक्षले प्रस्ताव तयार पार्न नभ्याएका कारण बैठक स्थगित भएको हैन र रु अनलाइनखबरको प्रश्नमा पन्तले भने, ‘मलाई त्यस्तो लाग्दैन ।’
उसोभए प्रधानमन्त्री ओलीले नै बैठक टार्न खोजेका हुन् त रु दोस्रो प्रश्नको जवाफमा उनले भने, ‘म त्यसो पनि भन्दिनँ ।’
स्थायी कमिटीका सदस्य पन्तले बैठक किन सर्यो भन्ने प्रश्नको जवाफ अर्का अध्यक्ष प्रचण्ड र सचिवालयका सदस्यहरुले दिनुपर्ने बताए । ‘अब यस विषयमा भएको कुरा के हो रु स्थायी कमिटीको बैठक किन हामीलाई खबर पठाइसकेपछि पनि सारियो, त्यसको बारेमा अर्का अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुपर्छ,’ पन्तले भने, ‘बैठक ११ बजे केन्द्रीय कार्यालयमा बस्ने भनेर हामीलाई एसएमएस पठाइसकेपछि स्थगित गर्नुपर्ने अवस्था किन आयो रु अर्का अध्यक्ष प्रचण्ड र सचिवायलका सदस्यले स्पष्ट पार्नुपर्छ ।’
वामदेव खुमलटार पुगेपछि गडबड
नेकपा सचिवालयको बैठक गत बुधबार र शनिबार दुईचोटि बसेको थियो । आज बुधबार तेस्रो पटक बसेको सचिवालय बैठक निश्कर्षविहीन बन्यो ।
अघिल्लो बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेपछि उनी हौसिएर शनिबारको बैठकमा ओली पक्षमा खुलेका थिए । र, वामदेवकै कारण शनिबार ९ सदस्यीय सचिवालयमा ओली पक्षको बहुमत पुगेको थियो, जसका कारण प्रचण्ड(माधव समूह रक्षात्मक स्थितिमा पुगेको थियो ।
तर, केपी ओली समूहमा लागेका नेता गौतम बुधबार बिहान अकस्मात प्रचण्ड निवास खुमलटार पुगेपछि । सचिवालयको शक्ति सन्तुलनमा फेरि गडबडी आयो ।
‘बैठकका प्रस्तावबारे छलफल गर्न’ भन्दै प्रचण्डनिवासमा पुगेका गौतमले आफूलाई केपी ओलीले धोका दिएको र आफू माधव(प्रचण्ड खेमामै रहेको बताउन भ्याए । यसरी वामदेव गौतमले एकाएक साथ छाडेर प्रचण्ड खेमामा लाग्ने प्रष्ट संकेत दिएपछि प्रधानमन्त्री ओली पुनः अल्पमतमा परेको र सचिवालय बैठक टारेको संस्थापन इत्तर पक्षका नेताहरुको दाबी छ ।
त्यसो त प्रधानमन्त्री ओलीले सुरुदेखि नै स्थायी कमिटीको बैठक टार्न खोजेको संस्थापन इत्तरका नेताहरु बताउँछन् । उनीको दाबी अनुसार आफू अल्पमतमा परेकाले स्थायी कमिटीको बैठक बसिहाले पनि त्यसमा सहभागी नहुने ओलीले अघिल्लो बुधबारको सचिवालय बैठकमा बताएका थिए ।
तर, शनिबार भने उनी लचकदार बनेर आत्मालोचना गर्दै २५ गते स्थायी कमिटी बैठक बोलाउन सहमत भएका थिए । बुधबार फेरि प्रधानमन्त्रीले बैठकप्रति अरुची देखाए । र, यो घटनापछि नेकपामा साम्य हुन लागिसकेको विवाद पुनः बौरिने संकेत देखिएको छ ।

