गजुरीको फुड बैंकलाई वन उपभोक्ता समूहद्वारा चामल सहयोग

Avatar photo
Dhadingpost
बैशाख १४, २०७७

धादिङ बैशाख १४ । धादिङको गजुरी गाउँपालिकाले संचालनमा ल्याएको फुड बैंकलाई ठूलोवन सामुदायिक वन उपभोक्ता समूह गजुरीले चामल सहयोग गरेको छ ।

कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण खाद्यान्न संकट भएका परिवारलाई सहयोग गर्ने उद्धेश्यले गाउँपालिकाद्वारा संचालित फुड बैंकलाई उक्त वन उपभोक्ता समूहले २५ बोरा (९७५ केजी) सहयोग गरेको हो ।

चामल आईतबार उक्त वन उपभोक्ता समूहले गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्रविक्रम वस्नेतलाई हस्तान्तरण गरेको थियो ।

सहयोग आउने र खाद्यान्न संकटमा परेका परिवारहरुलाई वितरण जारी रहेको बताउँदै पालिका प्रमुखले आफुले सकेको फुड बैंकलाई सहयोग गर्न व्यक्ति र संघ संस्थालाई अपिल गरेका छन् ।

यस अघि फुड बैंकलाई इसाई समाज र पुनरुत्थान बोर्डले ५६ हजार मुल्य बराबरको १२ सय केजी चामल सहयोग प्रदान थियो ।

यस्तै फुड बैंकमा लायन्स क्लब अफ मलेखु टाउनले चामल १० बोरा (३०० केजीे), नुन १ बोरा (५० केजी), चिउरा २ बोरा (४० केजी) र साबुन १ कार्टुन (७२ वटा) सहयोग गरेको थियो ।

त्यसैगरि नवजीवन साना किसान सहकारी गजुरी ५ को तर्फबाट २५ हजार १२५ र रुपैया पनि फुड बैकलाई प्राप्त भएको गजुरी गाउँपालिकाले जनाएको छ ।

x